२४ सय ७४ घर मापदण्ड विपरित, २४ हजारकाे गुनासो



हेटौंडा : २०७२ सालको भूकम्पमा भत्किएका घर पुनर्निर्माणको क्रममा मकवानपुरमा मात्रै २४ सय ७४ वटा घर सरकारको मापदण्ड विपरित बनेका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइका अनुसार निर्माण भएका घरहरु मापदण्ड विपरित रहेको पाइएको हो । मापदण्ड विपरित भए पनि ती घरहरु भूकम्प प्रतिरोधी छन् कि छैनन् त्यसबारे यकिन भएको छैन ।

इकाइका अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार प्रमुख सोमराज तिमल्सिनाले भने, ‘प्राधिकरणले उपलब्ध गराएको मापदण्डमा नबनेका घरहरु हाम्रा प्राविधिकले भूकम्प प्रतिरोधी छ कि छैन चाँज गर्छन्, छैन भने पुन निर्माण गर्नुपर्छ ।’

तीमध्ये १ सय ६ वटा घर प्रमाणीकरण हुन बाँकी रहेको उनले बताए । साथै सुधार भएका घरका लागि पनि अनुदान रकम दिने तिमल्सिनाले बताए ।

२४ हजारको गुनासो

भूकम्पले क्षति भएको घर मुल्याङ्कनमा प्राविधिकले त्रुटी गरेको र आफ्नो घर छुटेको भन्दै २३ हजार ९ सय ६१ परिवारले गुनासो फारम भरेका छन् । तीमध्ये १७ हजार १ सय ३९ घरको पुनः जाँच गरेको इकाइले जनाएको छ ।

‘पुनः जाँच गराइएकामध्ये १४ हजार ८ सय ९५ गुनासो सम्बोधन भएको छ’, तिमल्सिनाले भने, ‘यो मंसिरसम्म थप ३ हजार ८ सय ७५ गुनासो दर्ता भएका छन् ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्