‘न्याय मेरा लागि वेद, बाइबल र कुरान’



काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन्। लगत्तै उनले सर्वोच्च अदालतको कार्यभारसमेत सम्हाले। सर्वोच्चमा स्वागतपछि आयोजित पत्रकार भेटघाटमा सबै न्यायाधीशसामु राणाले न्यायिक सुशासन कायम गर्ने प्रतिबद्धता दोहोर्‍याए।

 

सबै तहका अदालतका काम–कारबाहीको सूक्ष्म निगरानी, प्रभावकारी अनुगमन, भ्रष्टाचार र विचलनको बृहत् अध्ययन र कारबाही, मुद्दाको पेसी व्यवस्थापनमा सुधारलगायत प्रतिबद्धता उनले सार्वजनिक गरे। न्यायाधीश र कर्मचारीबाट हुने अनियमितता छानबिनका लागि प्रभावकारी संयन्त्र बनाइने योजना पनि उनले ल्याएका छन्। ‘न्यायप्रतिको मेरो प्रतिबद्धता मुस्लिमको कुरान, हिन्दूको वेद र इसाइको बाइबल जस्तै हो,’ उनले भने।

 

उनले न्यायमा पहुँच आयोगको प्रतिवेदनलाई हुबहु कार्यान्वयन गर्ने बाचा पनि गरे। यो कार्ययोजना सर्वोच्च अदालतका सबै न्यायाधीशहरूको भएकाले मिलेरै कार्यान्वयन गर्ने उनको भनाइ रहेको अन्नपुर्णमा खवर छ ।

 

‘लेख्दा ख्याल गर्नुहोस्’

राणाले न्यायपालिकाबारे लेख्दा जिम्मेवार बन्न सञ्चारकर्मीलाई चेताए। न्यायपालिकाको स्वतन्त्रतालाई जोगाएर लेख्न आग्रह गरे। ‘यो मेरोमात्रै कुरा होइन। सबैलाई अघि राखेर भन्छु अदालत र न्यायाधीश भनेको संस्था हो । हिजो जसरी मिडियामा अदालतबारे खबर देखेको छु, अब त्यस्तो नहोस्,’ चेतावनीको भाषामा राणाले भने, ‘यो संस्थाप्रति तपाईंहरूको पनि दायित्व छ।’

 

न्यायालयमा रहेको गुटबन्दीबारे प्रश्नमा राणाले भने, ‘एक गठ एक परिवार र एक शक्ति भएर अगाडि बढ्छ। न्यायाधीशहरू हिजो पनि विभाजित थिएनन्। आज पनि छैनन् र भोलि त झन् हुने छैनन्।’

प्रतिक्रिया दिनुहोस्