छाउगोठ भत्काएपछि ओडारमा बस्दै



बझाङ : चारैतिर हिउँले ढाकेको छ । चिसो हावाले ठिहिर्‍याउन थालेको छ । सामान्य लुगामा उनले ५ रात ओडार काट्नुपर्ने छ । डेढ वर्षको शिशुको साथ छ ।

साइपाल गाउँपालिका–४, धुलीकी उजली रोकाया भन्छिन्, ‘हामी त जसोतसो रात कटाइहाल्छौं, बच्चालाई चिसोले असर गर्ला भन्ने डर लाग्छ ।’

गत वर्ष जेठमा यहाँका सबै छाउपडी गोठ जनप्रतिनिधि र कर्मचारीले भत्काइदिए । साइपालका महिनावारी हुने उमेरका अधिकांश महिलाको यस्तै नियति छ । 

महिनावारीका बेला वर्षौंदेखि बस्दै आएको गोठ भत्काइएसँगै कतिपय ओडारमा बस्दैछन् भने कतिपयले भत्केकै गोठलाई बारबेर गरेका छन् ।

‘घरमा कोही थिएनौं, सबै काममा गएका थियौं, कतिबेला आएर छाउखुल्लो .छाउगोठं भत्काइदिएछन्’, धुलीकी विरती रोकायाले भनिन्, ‘हामी त लाँगो (लाँगा देवता) मान्ने मान्छे, कसरी घरभित्र बस्नु ?’

उनी त्यही बेलादेखि ओडारमा बस्ने गर्छिन् । उनले यसअघि आफू बस्दै आएको छाउगोठ दुईतले घरजस्तै थियो । ‘छाउगोठजस्तो थिएन, माथिल्लो तलामा पलङसहित सुत्ने व्यवस्था मिलाइएको थियो,’ उनले भनिन्, ‘झ्याल–ढोकामा चुकुल लगाउने व्यवस्था थियो ।’

गाउँपालिकाले गोठ भत्काइँदै छ भनेर जानकारीसम्म दिएन । ‘छाउ (महिनावारी) भएको दोस्रो दिन म नुहाएर आउँदा गोठ भत्काएर गइसकेका रहेछन्, हामीलाई एकपटक पनि सोधेनन्,’ वडा ३, काँडाकी जंगमती बोहराले भनिन्, ‘त्यही दिनदेखि पाल टाँगेर बस्न थालेकी छु ।’

गाउँपालिकाले कारबाही गर्ने डर छ । ‘भत्काएको छाउगोठ फेरि बनाए कारबाही गर्छौं भनेका छन्,’ उनले भनिन्, ‘त्यसैले जाडो सहेरै पनि बाहिर बसिरहेका छौं ।’

गाउँपालिकाले छाउगोठमुक्त गाउँपालिका घोषणा गर्नका लागि ३ लाख रुपैयाँ विनियोजन गरेको र सोही रकम सिध्याउन जबर्जस्ती गोठ भत्काएको महिलाको आरोप छ । लासीकी शंकधारा बोहराले भनिन्, ‘उनीहरूले ३ लाख खान गोठ भत्काए । अहिले हामीले जाडोमा कठ्यांग्रिनुपरेको छ ।’

गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले भने गाउँपालिकाले नभई स्थानीय महिलाले स्वस्फूर्त गोठ भत्काएको बताए । उनले भने, ‘हामी त स्थानीय महिलाको पछाडिमात्र गएका हौं ।’ उनले महिलालाई २ दिनको तालिम दिएपछि गोठ भत्काएको बताए । तीन लाख रुपैयाँ तालिम र जनचेतनामूलक सडक नाटकमा खर्च गरिएको उनको दाबी छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्