कान्ति लोकपथको काम अलपत्र



ललितपुर: जिल्लाका क्रसर उद्योगमा प्रशासनले रोक लगाएपछि कान्तिलोक पथको काम अलपत्र बनेको छ । उक्त पथको केही भाग कालोपत्रेका लागि तयारी अवस्थामा रहे पनि त्यसका लागि चाहिने कच्चा पदार्थ (चिप्स) उपलब्ध नभएपछि काम अलपत्र परेको हो ।

 

जिल्ला अनुगमन समितिले जिल्लाभर सञ्चालनमा रहेका ढुंगा खानी र क्रसर उद्योग अनुगमन गरी मापदण्ड पु¥याएर नविकरण नगरेसम्म केही हप्तादेखि ठप्प पारेको छ । उक्त सडक खण्ड अन्तर्गतको टिकाभैरबदेखि तिनपाने भञ्ज्याङसम्म ठेक्का पाएको गोल्डेन गुड जेभीले कालोपत्रे गर्न बेस बिछ्याइएको बताएको छ ।

 

तर कच्चा पदार्थ नहुँदा काम बढ्न सकेको छैन । नजिकैको नल्लु खोलाको क्रसर उद्योगबाट बेस पेलेर ल्याएको जानकारी दिँदै उक्त जेभीका सहायक ठेकेदार गोरे तामाङले भने–‘भैँसे खोलादेखि चार किलोमिटर कालोपत्रे गर्न खोज्दै थियौँ चिप्स नपाउँदा काम अलपत्र बनेको छ ।’ यसका लागि नख्खुमा रहेको शैलुङ कन्स्ट्रक्सनको आस्फाल्ट प्लान्टसम्म चिप्स ल्याउन अनुमति माग्दा जिल्ला समन्वय समिति, नगरपालिका, जिल्ला प्रशासन कार्यालयले नदिएको उनले गुनासो गरे ।

 

तर प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले नल्लु खोलामा रोक लगाइएको क्रसरबाट उत्पादन हुने कुनै सामग्री अन्य ठाउँमा लान नमिल्ने प्रतिक्रिया दिँदै भने–‘यो बहाना मात्रै हो । अहिले सडक पिच गर्ने हो भने सामान स्टक गरेर राख्नुपथ्र्यो नि त । अहिले बन्द भएको बेला चाहियो भनेर पाइन्छ ? अबैध रुपमा संचालित भई प्रशासनले रोक लगाएको क्रसरबाट सामग्री लैजान पाइदैँन ।’

 

यो मार्गलाई काठमाडौंसँग तराई जोड्ने बैकल्पिक मार्गको रुपमा लिइदैँ आएको छ । काम छिटो गर्न खोजिएको योजनाका इन्जिनियर नरेन्द्र भट्टले बताए । उनका अनुसार मकवानपुरको बुद्धचोकदेखि लेनडाँडा साँढे २५ र ललितपुरको टिकाभैरबदेखि भैसेखोलासम्म साढे २ किमि खण्ड कालोपत्रे भइसकेको छ ।

 

यस्तै ललितपुरको भैँसेखोलादेखि कोटडाँडासम्म बेसको काम सकी कालोपत्रे गर्ने तयारी भइरहेको छ भने बगुवादेखि काल्चेसम्म कालोपत्रे सुरु भएका छ । काल्चेदेखि देविसाँधसम्म ह्युम पाइप र वालको काम भइरहेको छ । यस्तै देविसाँधदेखि तिनपानेसम्म ग्रावेल सकी बेसको कामको तयारी भइरहेको योजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्