निर्मला हत्याकाण्ड र नेपालमा बढ्दाे महिला हि‌ंसाबारे अमेरिकी पत्रिकाकाे ध्यानाकर्षण



काठमाडाैं : कञ्जनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि गरिएको हत्याको विषय अन्तर्राष्ट्रियकरण भएको छ । 

 

अमेरिकाको राजधानी वाशिङटनबाट निस्कने प्रभावशाली दैनिक द वासिङ्गटन पाेसट्की अमान्डा एरिकसनले बुधबार निर्मला हत्याकाण्ड र नेपाल सरकारले अश्लील सामग्रीमाथि लगाएको प्रतिबन्धका विषयमा फिचर लेखेकी छन् ।

 

निर्मलाको हत्या भएको केही समयपछि अर्की एक १० वर्षे बालिकालाई बलात्कारपछि पाँच जना पुरुषले घाँटी थिचेर गरेकाे हत्या,  दुई दिदीबहिनी सम्झना र सुस्मिता दासमाथि छिमेकीले एसिड आक्रमण गरेको घटना पनि उनले फिचरमा उल्लेख गरेकी छन् ।

 

महिलाविरुद्धको हिंसा लगातार हुँदै गएपछि नेपाल स्तब्ध भएको र देशभरि विरोध तथा थप जवाफदेहिताका लागि आह्वान गरिएको एरिकसन लेख्छिन् । तर सरकारले यसका लागि अर्कै किसिमको समाधान अर्थात पाेर्नग्राफमा लगाएकाे प्रतिबन्धले लेखेकी छन् । 

 

तर आलोचकहरूले यो प्रतिबन्ध मूल मुद्दाबाट ध्यान भड्काउने प्रयास मात्र भएको बताएका छन् ।

 

‘बलात्कारीहरूलाई अभियोजन गर्न अक्षम सरकारले आफ्नो कमजोरी लुकाउन यो घोषणा गरेको हो,’ इन्टरनेट सोसाइटीकी शुभा कायस्थ बताउँछिन् । ‘यौन हिंसालाई सम्बोधन गर्न थप सही दृष्टिकोण भनेको मानिसलाई सशक्तीकरण गर्नु हो र यौन अपराधका पीडकलाई दण्डित गर्नु हो ।’

 

अभियन्ता र महिला समूहहरूले प्रहरीको थप सक्रियता तथा शिक्षामा जोड दिएका छन् । तर चिन्ताको विषय भनेको स्थानीय प्रहरी विभागहरू पीडितलाई भन्दा पनि पीडकलाई जोगाउन लागिपरेका छन् । 

 

निर्मलाको हत्यामा प्रहरीको क्रियाकलाप चिन्ताको विषय भएको अधिवक्ताहरूको भनाइ छ । अभियन्ताहरू वास्तविक हत्याराको पहिचान लुकाउन प्रहरी नै लागिपरेको र सुस्त मनस्थितिको व्यक्तिमाथि झूटो अभियोग लगाएको बताउँछन् । 

 

निर्मलाको मुद्दामा प्रहरीले गलत अनुसन्धान गरेको भनी राजधानी काठमाडौं र देशका अन्य शहरमा विरोध प्रदर्शन भइरहेका छन् । हजारौं मानिसले निर्मलाका लागि न्याय माग्दै सडकमा प्रदर्शन गरेका छन् । आन्दोलनका क्रममा प्ररहीको गोली लागी एक किशोरको मृत्यु समेत भइसकेको फीचरमा लेखिएको छ । 

 

विगत तीन वर्षमा बलात्कार तथा हिंसाका घटना ह्वात्तै बढेको तथ्यांकले देखाउने एरिकसन लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्