वैदेशिक रोजगारीमा गएका महिला सम्पर्कविहीन



बाँके:  वैदेशिक रोजगारीमा गएका बाँकेका १९४ महिला घरपरिवारबाट सम्पर्कविहीन भएका छन् । राम्रो रोजगारी पाइने प्रलोभनमा दलालमार्फत छिमेकी मुलुक भारत र खाडी राष्ट्रमा पुगेका महिला सम्पर्कविहीन हुन पुगेको मानवबेचविखनविरुद्ध क्रियाशील संस्थाले जनाएका छन् ।

 

बितेको एक वर्षमा १९४ महिलाका परिवारले खोजतलासका लागि नेपालगन्जस्थित माइती नेपालको कार्यालयमा निवेदन दिएको सो संस्थाका संयोजक केशव कोइरालाले बताए । आफन्तका अनुसार उनीहरू जोखिमपूर्ण यात्रामा भारत तथा खाडी मुलुकमा पुगेर हराएका छन् ।

 

माइती नेपाल नेपालगन्ज कार्यालयको सन् २०१८ को तथ्यांकअनुसार, बाँकेको कोहलपुर नगरपालिकाका ६२ जना, नेपालगन्ज उपमहानगरपालिकाका ४२, राप्तीसोनारी गाउँपालिकाका ३१, बैजनाथ गाउँपालिकाका ३३, खजुरा गाउँपालिकाका २०, जानकी गाउँपालिकाका चार र डुडुवा गाउँपालिकाका दुई जना घरपरिवारको सम्पर्कमा छैनन् । प्रायः पर्यटन भिसामा खाडी मुलुक जाने उनीहरू तीन महिनासम्म घरपरिवारसँग सम्पर्कमा रहे पनि त्यसपछि लुकेर काम गर्नुपर्ने बाध्यता रहेको कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्