१२ हजारलाई साक्षर बनाउने अभियान सुरु



नेपालगन्ज: स्थानीय सरकारको प्रत्याभूति दिन बाँकेको नरैनापुर गाउँपालिकाले गाउँपालिकालाई ‘ल्याप्चे मुक्त’ बनाउन साक्षरता अभियान सञ्चालन गरिएको छ । गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले शिक्षाको क्षेत्रमा अत्यन्तै पिछडिएको गाउँपालिकाका रूपमा रहेको नरैनापुरमा करिब १२ हजार नागरिक अझै निरक्षर रहेकाले अभियानै सञ्चालन गर्नुपरेको जानकारी दिए ।

 

उनले भने, ‘गाउँपालिकामा अझै पनि १२ हजार बढी निरक्षर छन् । उनीहरूलाई साक्षर बनाउन साक्षरता अभियान सञ्चालन गरेका हौं । निरक्षर र ल्याप्चेका कारण सामाजिक सुरक्षा भत्तादेखि सबै कुरा अनलाइनमार्फत गर्नुपर्ने हुँदा साक्षरता अभियान सञ्चालन गरेका हौं ।’

 

उनले साक्षरता अभियानको पहिलो चरणमा ३ हजारलाई साक्षर बनाउने र उनीहरूमार्फत बाँकी ९ हजारलाई साक्षर बनाउन परिचालन गर्ने गरी अभियान सञ्चालन गरेको जानकारी दिए । पहिलो चरणको अभियानमा ३ हजारलाई साक्षर बनाउन सय जना सहजकर्तालाई कार्यक्षेत्रमा खटाइएको छ ।

 

उनले भने, ‘म आफैं बैंकमा बसेर सामाजिक सुरक्षा भत्ता वितरणको बेलामा हस्ताक्षर गर्न सिकाउनुपर्ने अवस्था आएपछि साक्षरता अभियान सञ्चालन गरी सबैलाई साक्षर बनाउन थालिएको हो ।’ उनले पहिलो चरणको साक्षरता अभियान ३ महिनाको हुने र त्यसका लागि आवश्यक पर्ने शैक्षिक सामग्री सहजकर्ताहरूलाई हस्तान्तरण गरिएको बताए ।

 

‘चैतभित्र ३ हजार निरक्षरलाई साक्षर बनाउने  लक्ष्यअनुसार गाउँपालिकाका ६ वटै वडामा खटिने एक सय सहजकर्तालाई १४ लाख मूल्यबराबरका शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ,’ उनले भने, ‘सहजकर्ता र कक्षा लिनेहरूलाई आवश्यक पर्ने किताब, कापी, कलम, बोर्ड, मार्करलगायतका सामग्री हस्तान्तरण गरिएको हो ।’

 

अध्यक्ष शाहले अशिक्षाको कारण गाउँपालिका विकासमा पछि परेको बताउदै विकासको बाधकका रूपमा रहेको अशिक्षालाई मुक्त बनाउन साक्षरता अभियान थालेकाले सबै गाउँपालिकावासीलाई उत्साहसाथ कक्षामा सहभागी हुन आग्रह पनि गरेका राजधानीमा खवर छ ।

 

उनले गाउँपालिकाको हरेक वडामा सञ्चालन हुने प्रत्यक साक्षरता कक्षाको अनुगमन गर्दा परिणाम देखिने गरी काम गर्न सहजकर्ताहरूलाई निर्देशन दिँदै भने, ‘तपार्इंहरू तीन महिनाका लागि प्रत्येक वडामा सञ्चालन भएको साक्षरता कक्षामा खटिनुभएको छ । गाउँपालिकाले नियमित कक्षा अनुगमन गर्नेछ, त्यो समयमा तपार्इंले गरेको कामको नतिजा स्पष्ट देखिने गरी काम गर्नुहोला ।’

 

नरैनापुर गाउँपालिकाका करिब १२ हजार निरक्षर नागरिकलाई साक्षर बनाउने अभियान सञ्चालन गरिरहेको संस्था ग्रामीण समाज उत्थान मञ्चका अध्यक्ष मुस्ताक अलि राईले प्रत्येक वाडाका टोलटोलमा खटिने सहजकर्तालाई नतिजा सकारात्मक आउने गरी काम गर्ने दाबी गरे ।

 

यसैबीच, शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका प्रमुख गोर्खबहादुर थापाले बाँकेका आठवटै स्थानीय तहमा पूर्व साक्षरताका लागि पटक–पटक कक्षाहरू सञ्चालन गरिए पनि कुनै पनि स्थानीय तह पूर्ण साक्षर पालिका घोषणा हुन नसकेको जानकारी दिए ।

 

उनले भने, ‘साक्षरताका लागि राष्ट्रिय साक्षर अभियानका लागि धेरै कक्षा सञ्चालन भए पनि अझै पनि ठाउँठाउँमा निरक्षर रहेको जानकारी आएको र केही स्थानीय तहले आफ्नै तवरले साक्षरता अभियान सञ्चालन गरेका छन् ।’

 

उनले नरैनपुर गाउँपालिकाले अपनत्व लिएर सुरु गरेको साक्षरता अभियानको सफलता पार्न आफ्नो कार्यालयबाट हुन सक्ने समन्वय र सहयोग गर्न तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्