मल अभाव रोक्न थप ४ अर्ब बजेट माग



काठमाडौं: कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मल संकट रोक्न अर्थ मन्त्रालयसँग थप ४ अर्ब बजेट माग गरेको छ । मन्त्रलायले चालू आर्थिक वर्ष २०७५÷७६ को बजेटमा मलका लागि ५ अर्ब ९९ करोड ९८ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

 

बजेटले किसानलाई मल नपुग्ने हुँदा थप बजेट माग गरेको मन्त्रालयले जनाएको छ । चालू आर्थिक वर्षमा मलका लागि छुट्याएको बजेटले यो वर्षको गहुँ बालीका लागि मात्र पुग्ने मन्त्रालयले जनाएको छ । आउने धान बालीका लागि किसानलाई मलको संकट नहोस् भनेर अर्थ मन्त्रालयसँग थप ४ अर्ब ५१ करोड बजेट माग गरेको मन्त्रालयले जनाएको छ ।

 

मन्त्रालयले माग गरेको थप बजेट अर्थ मन्त्रालयले तत्काल विनियोजन गरेन भने चैते र बर्खे धान बालीका लागि किसानलाई मलको संकट हुने कृषि मन्त्रालयका कृषि सामग्री व्यवस्थापन तथा प्रविधि शाखाका वरिष्ठ अधिकृत नेत्र भण्डारीले बताए । भण्डारीले भने, ‘गत वर्ष करिब ३ लाख ४४ हजार मेट्रिकटन मल बिक्री भएको हुँदा चालू आर्थिक वर्षमा ४ लाख मेट्रिकटन मल आवश्यक पर्ने अनुमान गरेको छ ।’

 

चालू आर्थिक वर्षमा मलका लागि छुट्याएको बजेटले २ लाख ८३ हजार मेट्रिकटन मल मात्र आउने उनले बताए । अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्य बढेको हुँदा छुट्याएको बजेटले अनुमान गरेको भन्दा कम मल आउने देखिएको उनले बताए । अर्थ मन्त्रालयले थप बजेट विनियोजन नगर्दा करिब १ लाख ८३ हजार मेट्रिक टन मल अभाव हुने देखिएको राजधानीमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्