इलाममा ओलीलाई अभिनन्दन गरिने



इलाम: आउँदो पुस २० गते इलाममा आयोजना हुने लगानी सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अभिनन्दन गरिने भएको छ । राष्ट्र निर्माणमा पु¥याएको योगदानको कदर गर्दै प्रधानमन्त्री ओलीलाई इलाम नगरपालिकाले अभिनन्दन गर्ने भएको हो ।

 

इलामको विकासमा समेत प्रधानमन्त्रीले उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै सम्मानस्वरूप अभिनन्दन गरिने नगरपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठले जानकारी दिए । सो अवसरमा पूर्वप्रधानमन्त्री, पूर्वसभामुख, इलामबाट प्रतिनिधित्व गरेका सांसद तथा उद्योगीकोसमेत उपस्थिति रहने जनाइएको छ ।

 

विदेशी लगानी भित्र्याउने र आन्तरिक स्रोतलाई परिचालन गर्ने उद्देश्यले सो नगरपालिकाले सम्मेलन गर्ने भएको छ । जिल्लामा लगानीका सम्भावना भए पनि परिचालन नहुँदा लगानीयोग्य क्षेत्र खेर गइरहेको भन्दै नगरले पाँचवटा शीर्षकमा लगानी गर्न आह्वान गर्दै लगानी सम्मेलन गर्ने भएको हो ।

 

सम्मेलनमा कृषि, दूध, जडीबुटी, पर्यटन र चिया क्षेत्रमा लगानी गर्न लगानीकर्तालाई आह्वान गरिने नगर प्रमुख महेश बस्नेतले जानकारी दिए । सम्मेलनमा देशका सयभन्दा बढी लगानीकर्ता भित्र्याइने लक्ष्य रहेको छ ।

 

पुस २० गते आयोजना गरिएको लगानी सम्मेलनका क्रममा देशका ख्याति प्राप्त उद्योग व्यवसायी र गैरआवासी नेपालीसमेत सहभागी बन्ने उनले बताए । प्रमुख बस्नेतले व्यवसायीको नाम नै लिएर उपेन्द्र महतो, चण्डी ढकाल, चन्द्र ढकाल, शेखर गोल्छा, प्रदीप श्रेष्ठ, ज्ञानेन्द्र ढुंगाना, राजेन्द्र राउत, किशोर प्रधानलगायतका सय उद्योगी लगानी सम्मेलनमा सहभागी हुने तयारी भएको जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्