त्रिशुली जलविद्युत केन्द्रमा आगलागी, पुनर्उत्पादनका लागि एक साता लाग्ने



नुवाकोट: नुवाकोटमा रहेको त्रिशुली जलविद्युत केन्द्रको उत्पादन गृहमा बुधबार साँझ आगलागी हुँदा विद्युत उत्पादन बन्द भएको छ । २१ मेगावाट क्षमताको उक्त केन्द्र र सहायक योजनाको रूपमा रहेको १४ मेगावाट क्षमताको देवीघाट जलविद्युत केन्द्रसमेत बन्द हुँदा राष्ट्रिय प्रसारण लाइनमा यहाँबाट ३५ मेगावाट विद्युत जोडिन बन्द भएको हो।

 

बुधबार साँझ ६:३० बजेतिर उत्पादन भएको विद्युत प्रवाह हुने ‘बसबार’मा ताप उत्पन्न भएर आगो लाग्दा ब्रेकर नम्बर ६ मा रहेको ६ दशमलब ६ केभीको जेनेरेटर जलेर पूर्णरूपमा क्षति भएको केन्द्रका प्रमुख तारदत्त भट्टले जानकारी दिए।

 

उनका अनुसार आगलागीले क्षति पुर्याएका उपकरण मर्मत र परिवर्तन गर्न १ करोड रुपैयाँभन्दा बढी लाग्ने देखिएको छ। जलेका सामाग्री मर्मत तथा परिवर्तन गरी उत्पादन थाल्न करीब एक साता लाग्ने अनुमान आयोजनाले गरेको छ ।

 

उत्पादन गृहमा लागेको आगो नियन्त्रणमा ल्याउन नेपाल विद्युत प्राधिकरणका कर्मचारी, नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी, विदुर नगरपालिकाको दमकलसहित स्थानीयवासीलाई एक घन्टाभन्दा बढी समय लागेको थियो ।

 

आगलागीका कारण उक्त केन्द्रबाट विद्युत उत्पादन बन्द हुँदा नुवाकोटसहित रसुवा र धादिङका केही स्थानमा विद्युत सेवा बन्द भएकाले राष्ट्रिय प्रसारण लाइनमार्फत गए रातिदेखि विद्युत उपलब्ध गराइएको छ । उक्त उत्पादन गृहमा गत असार २६ र मङ्सिर ८ गते पनि आगलागी भएको थियो।

प्रतिक्रिया दिनुहोस्