रेशम चौधरीलाई आज सांसदको शपथ गराउने तयारी



काठमाडौं :  कैलाली १ बाट प्रतिनिधिसभामा ठूलो मतान्तरले निर्वाचित राजपा नेपालका नेता रेशम चौधरीलाई बिहीबार सांसदको शपथ गराउने तयारी भएको छ । बिहान साढे ११ बजेपछि सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा शपथग्रहण हुन लागेको संसद् सचिवालयले जनाएको छ ।

 

केही दिनअघि प्रधानमन्त्री ओलीले बालुवाटारमा राजपा नेताहरूसँग भएको भेटमा चौधरीलाई शपथग्रहण गराउने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

 

‘टीकापुर घटना’ का मुख्य आरोपी चौधरी २०७४ मंसिर २१ मा सम्पन्न दोस्रो चरणको प्रतिनिधिसभा निर्वाचनमा विजयी भए पनि शपथ लिन पाएका छैनन् । थरूहट आन्दोलनक्रममा २०७२ भदौ ७ मा कैलालीको टीकापुरमा कयौंको ज्यान जाने गरी भएको हिंसात्मक घटनाका मुख्य आरोपी भनिएका उनी निर्दोष भएको भन्दै मुद्दा फिर्ता लिन राजपाले माग गर्दै आएको थियो ।

 टीकापुर घटनामा संलग्न भएको आरोपमा चौधरीसहित २७ जनामाथि मुद्दा चलाइएको छ । राजपाले चौधरीविरुद्धको मुद्दा फिर्ता लिई संसद्मा प्रवेश गर्ने वातावरण नबनाए केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको छ । ०७२ भदौ ७ गते कैलालीको टीकापुरमा आन्दोलनरत थरूहट कार्यकर्ता र प्रहरीबीच भएको झड्पमा एसएसपीसहित सात सुरक्षाकर्मी र एक बालकको मृत्यु भएको थियो । चौधरीमाथि त्यसैको ज्यान मुद्दा लागेको छ ।

थरूहट आन्दोलनका अगुवाहरूले सो घटनापछि टीकापुरलगायत थारूबहुल क्षेत्रमा राज्यआतंक मच्चाइएको र प्रतिक्रियास्वरूप भएका बलप्रहार र आगजनीजस्ता घटनाले ठूलो संख्यामा थारू पीडित बनेको आरोप लगाउँदै आएका छन् । 

 कैलाली क्षेत्र नम्बर १ बाट चौधरीले ३४ हजार ३४१ मत ल्याई प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । प्रतिद्वन्द्वी एमाले उम्मेदवारभन्दा २० हजार ९३५ मतान्तरमा चुनाव जितेका उनलाई शपथग्रहण गराइएको थिएन । आफूले शपथ खान पाउनुपर्ने माग गर्दै कारागारभित्रै उनी आमरण अनशनसमेत बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्