अमेरिकाबाट यो वर्ष १ सय १५ नेपालीलाई गरियो ‘डिर्पोट’



काठमाडौं : अमेरिकाले निष्कासन गरेका पाँच नेपाली चार्टर्ड विमानमार्फत काठमाडौं आइपुगेका छन् । बुधवार उनीहरु नेपाल आइपुगेका हुन् ।

अमेरिकाले यो वर्ष मात्रै गैरकानुनी रूपमा आफ्नो देश आइपुगेको आरोपमा १ सय १५ जना नेपालीलाई नेपाल फर्काएको नेपाल प्रहरीले जनाएको छ ।

यो वर्ष वैशाखयता मात्रै अमेरिकाले १ सय १५ जना नेपालीलाई निष्कासन गरेर नेपाल पठाएको विवरण नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई पठाएको छ । ब्यूरो प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक ईश्वरबाबु कार्की भन्छन्– ‘हाम्रो अनुमानमा आठदेखि दश हजार नेपाली अमेरिका पुग्ने बाटोमा रहेका छन् ।’

नयाँ शैली र नयाँ मार्ग प्रयोग गरेर नेपालबाट यसरी हुन्छ मानव तस्करी
नेपाल प्रहरीले यसै वर्ष वैशाखमा ब्यूरो स्थापना गरेपछि मात्र अमेरिकाले निष्कासन गरेका नेपाली आप्रवासीको जानकारी दिन थालेको हो । यसबीचमा प्रहरीले जुटाएका विवरण र फर्किएकासँग लिइएका बयानका आधारमा गैरकानुनी बाटोमा रहेका नेपालीहरूको सङ्ख्या आकलन गरिएको ब्यूरो प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक कार्कीले बताए ।

निष्काशन गरेर पठाइएका नेपालीहरू अधिकांश मानव तस्करमार्फत अमेरिका पुग्नेहरू छन् ।

अमेरिकामा आप्रवासीलाई तत्कालै देशनिकाला गर्न सकिने नयाँ नियम
सहजै नेपाल फर्कन नचाहनेहरूलाई चाटर्ड विमानको व्यवस्था गर्ने गरिएको प्रहरी अधिकारीहरू बताउँछन् । फर्काइएकाहरूलाई बुझ्न काठमाडौं विमानस्थल पुगेका ब्यूरोका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले ती पाँच नेपालीहरूको हात, खुट्टा र घाँटी बाँधिएको देखेको बताए । उनले भने –‘लाखौं रुपैयाँ गुमाएको र थुप्रै महिना जेलमा बिताएका कारण उनीहरू विक्षिप्त देखिन्थे । त्यही भएर व्यावसायिक वायुसेवाले ल्याउन नमानेका कारण चाटर्ड विमानमा पठाएको देखिन्छ ।’
ती पाँच नेपालीहरू अमेरिकाको जोर्जिया, लुइजियाना, टेक्सस, क्यालिफोर्निया र वाशिङटनबाट समातिएका बताइएको छ ।

कष्टकर मार्ग
कम्तीमा छ महिनाको कष्टकर र त्रासदीपूर्ण बाटोबाट अमेरिका पुग्ने बित्तिकै समातिनेहरू पछिल्लो समय निष्कासनमा पर्ने गरेको बताइएको छ । मानव तस्करले विभिन्न मार्ग हुँदै आठदेखि १२ देश कटाएर दक्षिण अमेरिकी देशहरूको बाटो भएर अमेरिका पुर्याएने गरेको प्रहरी विवरणले देखाउछ । अमेरिका जान एक व्यक्तिले कम्तीमा २० लाख रुपैयाँ खर्च गरेको प्रहरी विवरणमा उल्लेख छ ।

अमेरिका छिर्न हिँडेका १० हजार नेपाली बाटोमा
अवैध बाटो हुँदै अमेरिका छिर्न खोज्ने नेपालीहरूको संख्या बढ्दै गएको छ । मानव बेचबिखनमा अनुसन्धान ब्यूरोका प्रहरी अधिकारीका अनुसार अमेरिका छिर्ने सपनामा अहिले करिब १० हजार नेपाली विभिन्न देशमा रहेका छन् । त्यसरी जानेमध्ये धेरैजसो मेक्सिको–अमेरिकाको सीमामा पक्राउ पर्छन् भने कतिपय अन्य देशबाटै अलपत्र परेर फर्कने गरेका छन् ।

पछिल्लो समय अमेरिका लैजाने रुट इन्डोनेसिया र इथियोपिया बनिरहेको छ । ती देशले नेपालीलाई अन अराइभल भिसा दिने भएकाले ट्रान्जिट बनाइने गरिएको हो । त्यसपछि दक्षिण अमेरिकी देश बोलिभिया, कोलम्बिया, पानामा, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका पठाइने गरिएको छ । अमेरिका जान खोज्दा अलपत्र पर्नेहरूमा रुकुमका धेरै छन् । त्यस्तै दाङ, बाग्लुङ, म्यादी र पर्वतका पनि धेरै रहेको ब्यूरो प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक कार्कीले बताए । विगतमा ती जिल्लामा अवैध बाटो हुँदै अमेरिका पुगेको र त्यही आधारमा अन्य युवा समेत घरजग्गा धितो राखेर ऋण निकाली अमेरिका जाने सपनामा बिचल्लीमा परेका छन् ।

अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भएयता मेक्सिकोको सीमामा कडाई गरिएको छ । जसकारण अमेरिका छिर्न खोज्नेहरू ९५ प्रतिशत पक्राउ पर्ने गरेका छन् । पक्राउ गरेर त्यहाँको अध्यागमनले उनीहरूविरुद्ध मुद्दा चलाउने गर्छ । मुद्दा जित्ने सम्भावना निकै कम हुन्छ । त्यसपछि अमेरिकाले उनीहरूलाई सम्बन्धित देशमा निष्कासन गर्छ । अवैध आप्रवासीलाई नियन्त्रण गर्न ट्रम्पले होमल्याण्ड सेक्युरिटी अन्र्तगत इमिग्रेसन एण्ड कस्टर्म इन्फोर्समेन्ट(इसीइ) नामक छुट्टै संयन्त्र बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्