जहाँ विकास योजना बनाउनेहरू नै सुकुमवासी छन्



जनकपुरधाम : विकास तथा समृद्धिको रूपरेखा कोर्ने अधिकृत निकाय प्रदेश २ को नीति आयोग आफ्नै दुरवस्थामा सुधार ल्याउन सकेको छैन । साधनस्रोत अभावमा नीति आयोगको कार्यालयमा पदाधिकारीलाई काम गर्ने टेबुलकुर्सीसमेत छैनन् । 

प्रदेश सरकारले आयोगको कार्यालयका लागि भौतिक पूर्वाधार व्यवस्थापन गर्न नसक्दा सबै सदस्यहरूको बस्ने ठाउँ व्यवस्थापन हुन सकेको छैन । वैशाखमा गठन भएको नीति आयोगका सदस्यहरू आफैं सुकुमवासी भएका छन् । 

डा.हरिवंश झा उपाध्यक्ष रहेका आयोगको कार्यालयमा कर्मचारी छैनन् । सचिव स्तरसम्म गरी ४९ जना कर्मचारी दरबन्दी रहेको आयोगमा गठन भएको आठ महिना बितिसक्दा कुल २ जना कर्मचारी कार्यरत छन् । एक कार्यालय सहयोगी र एक खरदार गरी दुई कर्मचारीको भरमा आयोग कार्यालय धानिएको छ ।

कर्मचारी उपलब्ध गराउन आयोगले पटकपटक आयोगका अध्यक्षसमेत रहने मुख्यमन्त्रीको कार्यालयसँग माग गरे पनि सुनुवाइ भएको छैन । मुख्यमन्त्री कार्यालय कर्मचारी पठाउन अनिच्छुक हुँदा आयोगमा कर्मचारी नआएको आयोग स्रोेतको भनाइ छ । 

अन्य प्रदेशमा योजना आयोग नाममा गठन भएको प्रदेश २ को नीति आयोगका उपाध्यक्षमा डा. झा र सदस्यमा मोहन चौधरी नियुक्त भएका थिए । त्यसको झन्डै सात महिनापछि सदस्यका रूपमा डा.सुरेन्द्र झा र राजकुमार लेखी थपिएका थिए ।

अहिले उपाध्यक्षसहित ४ सदस्यका लागि आयोग कार्यालयमा जम्मा दुईवटा कोठा छन् । जसमा उपाध्यक्ष र एक सदस्य बस्दै आएका छन् । अन्य दुई सदस्य भने बस्ने ठाउँ नपाएर भौतारिएका छन् ।

आयोग कार्यालयमा विज्ञ वा सरोकारवालासँग विचार–विमर्श गर्ने वा नीति बनाउन चाहिने कक्षसमेतको अभाव छ । 

प्रतिक्रिया दिनुहोस्