जनकपुर अञ्चल अस्पतालको नाम प्रादेशिक बनाउन सुझाव



जनकपुरधाम । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले प्रदेशलाई अघि बढाउने जिम्मा प्रदेश सरकारको रहेको बताएका छन् । लोक सेवा आयोग, करार सेवा आयोगमार्फत् कर्मचारी भर्ना गरेर प्रदेशको विकासलाई अघि बढाउनुपर्ने धारणा उनले राखे ।

 

जनकपुर अञ्चल अस्पतालको नवनिर्मित बहिरंग विभागको समुद्घाटन गर्दै मन्त्री यादवले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नको लागि निर्देशन दिए । संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष समेत रहेका मन्त्री यादवले प्रदेशलाई श्रोतसाधन, प्रशासन सम्पन्न बनाउनको लागि संविधान संशोधन जरुरी रहेको बताए ।

 

उनले जनकपुर अञ्चल अस्पतालको नाम फेरेर प्रादेशिक बनाउन प्रदेश सरकारलाई सुझाव दिए । सो अवसरमा मुख्यमन्त्री लालबाबु राउतले अनियमित तरिकाले काम गर्ने जो कोहीलाई प्रदेश सरकारले कारबाही गर्ने चेतावनी दिए ।

 

स्वास्थ्य सेवा प्रदेश सरकारको मातहत आइसकेकोले त्यसमा रहेको समस्या बुझेर समाधान खोज्दै अघि बढने उनले बताए । अनियमित तरिकाले भएको कर्मचारी भर्ना खारेज गरिने उनले दोहोर्‍याए । कर्मचारी व्यवस्थापनको काम प्रदेश सरकारले गर्छ, उनले भने, 'गुणस्तरीय सेवाको लागि आवश्यक सबै कामहरु गर्छौ ।'

 

सो अवसरमा स्वास्थ्य सेवा विभागले उपलब्ध गराएको करिब चार करोड बराबरको उपकरण जनकपुर अंचल अस्पताललाई हस्तान्तरण गरिएको थियो ।

 

समुद्घाटन समारोहमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादव, सामाजिक विकासमन्त्री नवल किशोर साह, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी, परिवार कल्याण महाशाखाका महानिर्देशक डा. आरपी विच्छा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्