प्रतिनिधिसभा बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण



काठमाडौं : प्रतिनिधिसभाको आजको विशेष समयमा भाग लिने सांसदले राष्ट्रिय, अन्तर्राष्ट्रिय, क्षेत्रीय, जिल्ला र निर्वाचन क्षेत्रसँग समसामयिक विषयमा संसद्मार्फत सरकारको ध्यानाकर्षण गराए ।  

बैठकमा पहिलो वक्ताका रूपमा नेकपाका भीमबहादुर रावलले माथिल्लो कर्णाली विद्युत् आयोजना निर्माण गर्ने सन्दर्भमा भएको सम्झौता जिएमआर कम्पनीलाई कडाइका साथ पालना गराउँदै आयोजना अघि बढाउन सुझाव दिए ।  

नेपालको राष्ट्रिय हित र सहमतिअनुसार उक्त परियोजनालाई अघि बढाउने सन्दर्भमा सरकारबाट ठोस निर्णय गरियोस् भन्दै उनले कानून विपरित कार्य गर्ने तथा आयोजना लम्ब्याउन खोज्ने कम्पनीलाई म्याद नथप्न पनि आग्रह गरे । 

नेपाली काङ्ग्रेसकी डा डिला सङ्ग्रौलाले मुलुक अहिले जताततै समस्यै समयस्याबाट गुज्रिरहेको तथा निर्मला पन्तका हत्यारालाई पनि सरकारले नै संरक्षण गरिरहेको आरोप लगाइन् । उनले देशमा अहिले भ्रष्टाचार व्याप्त रहेको उल्लेख गर्दै शान्तिसुरक्षाको अवस्था अत्यन्त कमजोर भएको र यसमा सरकार असफल हुँदै गएको टिप्पणी गरिन् ।  

राष्ट्रिय जनता पार्टी नेपालका अनिलकुमार झाले अघिल्लो वर्ष असिना र बागमती नदीमा आएको बाढीले रौतहटका किसानले लगाएको खेतीपाती नष्ट भए पनि हालसम्म क्षतिपूर्ति पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।  

सङ्घीय समाजवादी फोरम नेपालकी सरिता गिरीले युरोप र अमेरिकासमेत सशङ्कित भएको चिनियाँ कम्पनी (हुवावे)लाई नेपालमा प्रधानमन्त्री कार्यालयको ‘वार रुम’को सूचना प्रविधिको व्यवस्थापन जिम्मेवारी दिइएकोबारे प्रश्न गर्दै यसले मुलुकको सुरक्षा चिन्ता बढाउनेतर्फ ध्यान दिनुपर्ने बताइन् । 

राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले प्यूठानका विभिन्न भागका चुनढुङ्गाको अव्यवस्थित उत्खननले बस्ती पहिरोको जोखिममा रहेको हुँदा त्यसमा सम्बन्धित निकायलाई ध्यान पु¥याउन आग्रह गरिन् । 

नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले २०४१ सालसम्म मालपोत कार्यालय भक्तपुरमा नगरपालिकाको नाममा दर्तामा रहेको सल्लाघारीस्थित रानीपोखरीको जग्गा पञ्चायतकालमा सेनालाई हस्तान्तरण गरिएको जानकारी गराउँदै जनताको कला र सांस्कृतिक सम्पत्तिका रूपमा रहेको उक्त जग्गा पुनः सार्वजनिकरूपमै कायम हुनुपर्ने माग गरे । 

नेकपाकी सत्या पहाडीले डोल्पा सडक दुर्घटनामा मृत्यु भएका परिवारलाई राहत उपलब्ध गराउन र जिल्ला अस्पताललाई व्यवस्थितरूपमा सञ्चालन गर्न माग गरिन् ।  

नेपाली काङ्ग्रेसका दिव्यमणि राजभण्डारीले प्रधानमन्त्रीले संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिने क्रममा उपाधि लिन कोस्टारिकाको भ्रमण गरेको टिप्पणी गर्दै त्यहाँ भएको खर्चको विवरण सदनलाई जानकारी गराउन माग गरे ।  

नेकपाका नारायण खतिवडाले गल्छी–त्रिशूली सडकअन्तर्गत नुवाकोटको विदुर नगरपालिकाभित्रको आठ किमी सडकमा पर्ने जनतालाई विभेद नगरी मुआब्जा दिन माग गरे ।  

नेकपाका टेकबहादुर बस्नेतले दाङमा केही दिनअघि भएको बस दुर्घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई उचित क्षतिपूर्ति दिन र सो सडकको स्तरोन्नतिका लागि माग गरे । 

प्रतिक्रिया दिनुहोस्