पूर्व मिस नेपाल निकिता चाण्डकले किन गरिन् विहेको प्रस्ताव अस्वीकार



हिरोइन बन्ने सपना बोकेर फिल्मी क्षेत्रमा हाम फालेका पूर्व मिस नेपाल निकिता चाण्डकको पहिलो फिल्म ब्रेक भएपनि नायिका बन्ने सौभाग्य फेरी प्राप्त भएको छ । पहिलो फिल्म ‘रानीमहल’ निर्माण हुँदै गर्दा बीचमै रोकिए पनि अहिले विराज भट्टसँग ‘साङ्लो’मार्फत् पर्दामा देखिने तयारीमा चाण्डक रहेकी छन् । अहिले फिल्म निर्माणको अन्तिम चरणमा रहेको छ भने फिल्मबाट उनी आशावादी पनि देखिन्छन् । उनले मिस नेपाल २०१७ को ताज पहिरिएकी थिइन् । उनै चाण्डकसँग गरिएको बुराकानीको संपादित अंश यहाँ प्रस्तुत गरिएको छ :-

मिस नेपालबाट पूर्व मिस नेपाल हुँदा कस्तो लाग्ने रहेछ ?
अहिले त म पूर्वको पनि पूर्व भइसकेँ (हाँस्दै)। सायद हामी पहिल्यै तयार हुन्छौँ यस्तो सत्यको सामना गर्न। शिरमा मिस नेपालको ताज सधैँ हुँदैन नि ! कुनै न कुनै समय त्यो अरु कसैको हुन्छ नै । समय आएपछि अर्कोमा स¥यो ताज। म पूर्व भएँ। तर कलाकारको ताज त सधैँ आफ्नै शिरमा हुन्छ भनेर फिल्म क्षेत्रमा आएकी हुँ । अब म हिरोइन भनेर चिनिन चाहन्छु ।

हल्का नरमाइलो त पक्कै लाग्ला नि ! श्रृङ्खलालाई क्राउन पहिर्याउँदाको अनुभव भन्नुस् न ?
हैन, म एकदम तयार नै थिएँ । म मिस नेपाल भएर स्टेजमा क्राउन लगाउँदा त अभ्यास चलिरहेको छ भन्ने लागेको थियो। अस्मी दि(श्रेष्ठ)ले मेचमा बसाउनु भयो अनि क्राउन लगाउनु भएपछि म उभिएँ । वास्तवमा रिहर्सलमा त्यस्तो हुन्छ । क्राउन लगाउँदा मेरालागि रिहर्सलजस्तै भयो । श्रृङ्खलालाई क्राउन लगाउँदा अब उसको पालो हो भन्ने लाग्यो । बधाई दिएँ ।

मिस नेपालको सुखदुःख कस्तो रहेछ ?
मिस नेपाल बाहिरबाट सजिलो देखिन्छ । मिस नेपाल भनेको रातारात स्टार हुने नै हो । तर कलाकारिताबाट चर्चा कमाउन समय लाग्छ । तर ‘ओभर नाइट फेम्ड’लाई ह्यान्डल गर्न निक्कै गाह्रो हुन्छ । साधारण केटी, भर्खरै जिन्दगी बुझ्दै गरेको उमेरमा एकै पटक चर्चामा आउँदा अलमल हुने रहेछ । सम्हाल्न गाह्रो हुने रहेछ । मिस नेपाल भइसकेपछि आउने क्रिटिसिजम सहज तरिकाले लिन अलि पनि गाह्रो हुँदो रहेछ ।

तपाईंलाई भारतीय भनेर पनि आलोचना गरे है ! कस्तो लाग्यो त्यो बेलामा ?
क्रिटिसिजम सुन्न पर्छ । त्यसैले सायद म सुरुदेखि नै तयार थिएँ । तर यत्ति धेरै क्रिटिसिजम हुन्छ भनेर सोचेकै थिइनँ । जब हामी मिस नेपालको अडिसन कोठामा छिर्छौं सबैभन्दा पहिला नागरिकता देखाउँछौँ । नेपालको नागरिकता देखाएर म अडिसनमा सहभागी भएकी थिएँ । म मारवाडी हुँ, त्यो अर्कै कुरा हो । मारवाडी नेपाली हुन् । नेपालमा बहुसंस्कृति, बहु–धार्मिक मानिस छन् । मेरो पुर्खा इण्डियाबाट बसाईँ सरेर नेपाल आए होलान् तर अहिले त म नेपाली नागरिकता हुँ नि !

फिल्मको कुरा गर्रौ है त अब, नेपाली फिल्म इन्डस्ट्रीको अवस्था कस्तो लाग्यो ?
म इन्डस्ट्रीमा जन्मेकै छुइन (अन बर्न चाइल्ड)। मैले इन्डस्ट्रीको धेरैसँग भेटेको छैन। म भर्खर बुझ्दै छु । बुझेपछि नै भनौँला ल !

मारवाडी समुदाय मनोरञ्जन क्षेत्रको बारेमा अलि नकारात्मक हुन्छन् भन्ने सुनिन्छ । समस्या भएन त परिवारबाट ?

मेरो परिवारमा त्यस्तो समस्या छैन । परिवारको साथ र सहमतिले नै अहिलेको चरणसम्म आइपुगेकी हुँ ।

पहिलो फिल्मलाई लिएर परिवारका सदस्यको कस्तो प्रतिक्रिया दिएका छन् ?
मैले गीतको एडिटिङ हुँदा साना क्लिप्सहरु खिचेर दिदीलाई पठाएँकी थिएँ । आमा र बुबालाई पनि पठाएँ । अनि दिदी त मेरो सपना पूरा भएको देख्नुभएर रुनु भएछ । मलाई पर्दामा देख्दा मेरो परिवार पक्का खुशी हुनेछ । मेरो भाइ सञ्जु होस्टेल बस्छ, ऊ त धेरै एक्साइडेट छ । अस्ति भन्दै थियो ‘गीत आउनेबित्तिकै टिचरलाई पठाइदिनू, म टिचरकै फोनमा हेरुँला !’ १० कक्षामा पढ्दैछ ऊ, उसलाई अहिले मोबाइल बोक्ने छूट छैन नि त ! अहिले ‘साङ्लो’को डबिङ हुँदैछ ।

कत्तिको गाह्रो रहेछ त डबिङ ?
डबिङ गाह्रो छ (भुँइतिर हेर्दै) । फेरि मेरो नेपाली लवज त्यत्ति राम्रो छैन । लवज सुधार्न विराज दाइले मिहिनेत गर्दै हुनुहुन्छ । नेपाली त बुझ्छु तर लवज ठ्याक्कै मिल्दैन । मैले सृष्टि दिदी (श्रेष्ठ)लाई पनि डबिङबारे सोधेकी थिएँ । उहाँले पनि गाह्रो त हुन्छ भन्नु भएको थियो तर सुरु गरिसकेपछि सजिलो हुन्छ भन्नुभयो । तर अझै नेपाली लवजमा समस्या छ । बिस्तारै सुधार गर्दैछु ।

फिल्ममा कस्तो काम भएजस्तो लाग्छ त ?
आफैँलाई त के जज गर्नु ! त्यही हो, नर्भस छु आफ्नो काम हेर्न । डर लागिरहेको छ । तर, कुनै यस्ता दृश्य नि थिए, जुन हेरेर अहो … मैले यस्तो गरेँ है भन्ने त लागेको छ । बाँकी त दर्शकले हातमा हो नि !

विराज भट्टसँग अभिनय गर्न गाह्रो–सहज के–कस्तो लाग्यो ?
पहिला त डराइरहेकी थिएँ । म अलिकति अन्तरमुखी स्वभावकी छु । सुरुमै काम गर्न त गाह्रो भयो । म आफ्नो धारणा उहाँलाई सुनाउँथेँ । उहाँ मेरो सल्लाहलाई लिनुहुन्थ्यो । सल्लाह राम्रो भए प्रयोग पनि गर्नुहुन्थ्यो । बिस्तारै एकदमै रमाइलो वातावरण बन्यो उहाँसँग ।

व्यक्तिगत कुरा नि गरौँ न। सिंगल कि मिंगल ?
सिंगल।

अहिलेसम्म प्रपोज गर्ने केटा आएनन् ?
अहँ, सायद मसँग डराउनु भयो होला (ठट्यौली शैलीमा) । बिहेको अफर भने आको छ । तर, अहिले करियरमै फोकस हुनुपर्ने समय हो । त्यसैले आफन्तबाट आएको बिहेको प्रस्तावलाई नो भनिदिएँ ।

प्रतिक्रिया दिनुहोस्