कर्मचारी समायोजनको विरोधमा वीरगन्ज महानगरपालिकाका कर्मचारी आन्दोलित



वीरगन्ज : वीरगन्ज महानगरपालिकाका कर्मचारी कर्मचारी समायोजनको विरोधमा अनिश्चितकालिन आन्दोलनमा उत्रेका छन् । बिहीबारदेखि कार्यालयका सम्पूर्ण काम ठप्प पारी उनीहरु आन्दोलित भएका हुन् ।

उनीहरुले बारुण यन्त्र सेवाबाहेक अन्य सम्पूर्ण कामकाज रोकेका छन् । 

महानगरका नगरप्रमुख र प्रमुख प्रशासकिय अधिकृतले कार्यपालिकाको बोर्ड तथा नगरसभाबाट पारित नै नगराइ कर्मचारी समायोजन गरेको भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन् ।

स्थानीय तह कर्मचारी संघ नेपाल महानगर इकाई समितिका अध्यक्ष मुकेश गुप्ताले महानगरका प्रमुख मेयर विजय कुमार सरावगी र प्रमुख प्रशासकिय अधिकृत भिष भुषालले तथाकथित संगठन तालिका र दरबन्दी लागु गर्न खोजेको आरोप लगाए । 

महानगरको आयस्रोत र साधनले धान्नै नसक्ने गरी निजामति कर्मचारी थोपरिएको उनको भनाइ छ । आन्दोलित कर्मचारीले स्थानीय तहका कर्मचारीलाई होच्याईएको आरोप समेत लगाएका छन् । 

कर्मचारीको तलबमा बर्सेनी लाग्ने १४ करोड रुपैयाँ महानगरको आयस्रोतले धान्न नसकेको अवस्थामा निजामति कर्मचारी थप गरी तलब रुपैयाँ ३४ करोड पुर्याइएको अध्यक्ष गुप्ताको भनाइ छ ।

महानगरपालिकामाथि आइपरेको आयभार महानगरवासीले चुकाउनुपर्ने भन्दै उनले कर्मचारी समायोजन फिर्ता नगरिएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए ।

कर्मचारी संगठन तालिका पत्र, ध्यानाकर्षण पत्र, संगठन तालिका संशोधन पत्र, प्रस्तावित संगठन तालिका र तहगत दरबन्दी प्रणाली सम्बन्धमा बारम्बार लिखित र मौखिक छलफल हुँदा पनि मेयर सरावगी र प्रमुख प्रशासकिय अधिकृत भुषालले कुनै सुनवाइ नगरेको नेपाल नगरपालिका कर्मचारी एशोसिएशन महानगर इकाई समितिका अध्यक्ष सोहन थापाले बताए । 

उनले पर्याप्त संख्यामा रहेका स्थानीय तहका कर्मचारीलाइ प्रमुख प्रशासकिय अधिकृतले काम नदिने, अख्तियार प्रत्यायोजन नगर्ने तर बाहिरबाट निजामती कर्मचारीलाई भित्र्याउने कार्य नरोकिए कडा रुपमा प्रस्तुत हुने चेतावनी दिए । 

आन्दोलनरत कर्मचारीले तहगत प्रणालीलाई खारेज गरी श्रेणीगत प्रणाली कायम गर्नुपर्ने, जेष्ठता, शैक्षिक योग्यता र कार्यदक्षताका आधारमा पाँच वर्ष कार्य गरेकालाई बढुवा तथा स्तरवृद्धि गर्नुपर्ने, पाँच वर्षभन्दा कम सो पदमा कार्यरतको हकमा दुई ग्रेड थप गरी पदस्थापना गर्नुपर्ने जस्ता निर्णय अनुमोदन गराउन माग गरेका छन् । 

महानगरका कर्मचारीको आन्दोलनका कारण ३२ वटा वडा कार्यालयको कामकाज प्रभावित भएको छ । महानगरपालिकासहित वडा कार्यालयमा सेवा लिन आएका सेवाग्राही कार्यालय बन्द भएकोले रित्तै फर्किएका छन् । 

कर्मचारी समायोजन बारेमा प्रमुख प्रशासकिय अधिकृत र नगरप्रमुखसँग बुझ्न खोज्दा उनीहरुले कर्मचारी समायोजनको प्रकृया शुरु भइसकेकोले यसलाई रोक्न नमिल्ने बताए । 

यसअघि पनि यही माग राखेर महानगरपालिकाका कर्मचारी आन्दोलित भएका थिए । महानगर प्रमुख र प्रमुख प्रशासकिय अधिकृतले कर्मचारीको मागप्रति सकरात्मक रहेको भनेपछि उनीहरु आन्दोलन फिर्ता लिइ काममा फर्केका थिए ।

प्रतिक्रिया दिनुहोस्