शैक्षिक केन्द्रलाई साधनस्रोत सम्पन्न बनाउनुपर्छ : राष्ट्रपति भण्डारी



विराटनगर : नेपालमा गुणस्तरीय शैक्षिक वातावरण अभावमा अध्ययनका लागि युवा विदेश पलायन हुने क्रम बढेको भन्दै त्यसलाई रोक्नुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीले जोड दिएकी छिन् । विराटनगरमा बिहीबार पूर्वाञ्चल विश्वविद्यालयको २५ औं वार्षिकोत्सव एवं रजत महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले शिक्षा क्षेत्र गुणस्तरीय हुन नसकेकै कारण वैदेशिक रोजगारीका नाममा युवा विदेश पलायन हुनु परिरहेको बताइन् ।

 उनले नेपालमै गुणस्तरीय र प्रतिस्पर्धी हिसाबको पठनपाठन हुँदा मात्रै अध्ययनका नाममा विदेश पलायन हुने क्रम रोकिने स्पष्ट पारिन् । उनले आवश्यक शैक्षिक पूर्वाधारको कमी, साधनस्रोत अभाव, समयानुकूल पठनपाठनमा समस्या र प्रतिस्पर्धात्मक शैक्षिक कार्यक्रम लागू गर्न नसक्दा अध्ययनका लागि विदेश पलायन हुनेको संख्या पनि धेरै रहेको उल्लेख गरिन् । भण्डारीले शैक्षिक केन्द्रहरूलाई साधनस्रोत र पूर्वाधारयुक्त बनाउनुपर्नेमा जोड दिइन् । 

उपयुक्त शिक्षा नीति लागू गर्दै उच्चतम प्रविधिका आधारमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै विश्वविद्यालयहरूले गुणस्तरीय जनशक्ति उत्पादन गर्नुपर्ने राष्ट्रपति भण्डारीको भनाइ थियो ।

आधुनिक शिक्षा पद्धतिलाई उत्पादकत्वसँग जोड्न सकिए मुलुकले व्यापार घाटा बेहोर्न नपर्ने बताउँदै उनले प्रकृतिप्रदत्त सम्पदाको उपयोग गरेर नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउन आधुनिक शिक्षा प्रणाली आवश्यक रहेको औंल्याइन् । 

 

‘समृद्ध नेपाल र सुखी नेपाली भन्ने अभियान सफल बनाउन मुलुकमा भएका जलसम्पदा, भूमि, वन, जडिबुटी र जनशक्तिको सदुपयोग गर्न उच्च शिक्षाको महत्वपूर्ण योगदान रहन सक्छ,’ उनले भनिन्, ‘विश्वविद्यालयले राष्ट्रलाई सम्मान गर्न सक्ने क्षमतावान र अनुशासित नागरिकको उत्पादन गर्नेतर्फ जोड दिनुपर्छ ।’ 

विश्वविद्यालयले राष्ट्रपति भण्डारीलाई अभिनन्दन पनि गरेको छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले जनअपेक्षा पूरा गर्न समृद्धिलाई  शिक्षासँग जोड्नुपर्ने बताए । पूर्वाञ्चल विश्वविद्यालयका सहकुलपतिसमेत रहेका उनले आम नागरिकलाई शिक्षित बनाएर राष्ट्र निर्माणमा लगाउने योजना सरकारले ल्याउने जानकारी दिए ।

पोखरेलले पारदर्शिता, जवाफदेहिता, निष्पक्षता र जनसहभागितालाई ध्यान दिँदै कुशल नागरिक उत्पादन गर्न आधुनिक शिक्षा प्रणालीलाई सदुपयोग गरिने बताए । पोखरेलले शिक्षालाई सीप, सीपलाई श्रम र श्रमलाई समृद्धिसँग जोड्नुको विकल्प नभएको बताए । 

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विश्वविद्यालयले राम्रा अवसर, स्रोत र सम्भावनालाई सदुपयोग गर्दै उद्देश्य प्राप्तिका लागि अघि बढ्नुपर्ने बताए । शैक्षिक विकासका लागि सानो मनस्थिति र सानो घेरामा नखुम्चिकन बृहत् योजनाका साथ विश्वविद्यालय प्रस्तुत हुनुपर्नेमा मुख्यमन्त्री राईको जोड छ । 

विश्वविद्यालयले शिक्षा क्षेत्रमा विगतमा साथ दिने, समर्थ र सहयोग एवं योगदान गर्ने पाँचजनालाई सम्मान गरेको छ । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका पहिलो अध्यक्ष प्रा. कृष्ण पोखरेल, द्धितीय उपकुलपति तोरणबहादुर कार्की, विराटनगरका पूर्वमेयर अशोक कोइराला र पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई सम्मान गरिएको विश्वविद्यालयका उपकुलपति डा. घनश्यामलाल दासले जानकारी दिए । त्यस्तै प्रथम उपकुलपति ध्रुवनारायण लाललाई मरणोपरान्त सम्मान गरिएको छ । 

कार्यक्रममा प्रदेश प्रमुख प्राडा गोविन्दबहादुर तुम्बाहाङ, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा दासलगायतको उपस्थिति थियो । 

पढेको क्याम्पसमा राष्ट्रपतिलाई अभिनन्दन 

राष्ट्रपति भण्डारीलाई उनले पढेको विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा बिहीबार अभिनन्दन गरिएको छ । 

पूर्वविद्यार्थी भएको र हाल देशको सर्वोच्च पदको नेतृत्व गर्न सफल भएकोमा उनलाई क्याम्पसका तर्फबाट अभिनन्दन गरिएको क्याम्पस प्रमुख बाबुराम तिम्सिनाले बताए । राष्ट्रपतिलाई दोसल्ला ओढाएर अभिनन्दनपत्र प्रदान गरियो ।

 

राष्ट्रपति भण्डारीले २०३९ सालदेखि २०४१ सालसम्म उक्त क्याम्पसमा मानविकी संकायअन्तर्गत स्नातक तह अध्ययन गरेकी थिइन् । अध्ययनका क्रममा उनी २०४० साल वैशाखमा सम्पन्न क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा कोषाध्यक्ष पदमा निर्वाचित भएकी थिइन् । 

अभिनन्दनका लागि क्याम्पस प्रमुख तिम्सिनाको संयोजकत्वमा २०१ सदस्यीय मूलसमिति र विभिन्न ११ वटा उपसमिति गठन गरिएका थिए । आफू पढेको क्याम्पसमा अभिनन्दन गरिएपछि राष्ट्रपति भण्डारीले आभार व्यक्त गरिन् । उनले आधुनिक शिक्षा प्रणाली मुलुक विकासको मूलआधार रहेको बताइन् । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस पूर्वको शैक्षिक विकासको धरोहर भएको भण्डारीले बताइन् । 

प्रतिक्रिया दिनुहोस्