प्रदेश २ सांसद साहले घरभाडा रकम फिर्ता गरे



जनकपुरधाम : प्रदेश २ का सांसद सांसद किशोरी साह कमलले संसद् सचिवालयबाट घरभाडाबापत बुझेका रकम फिर्ता गर्ने भएका छन् । बिहीबार प्रदेशसभा सचिवालयलाई पत्र लेखेर नेकपाका सांसद साहले रकम फिर्ता गर्ने जानकारी गराएका हुन् ।

आफूले सम्पत्ति विवरण पेस गर्दा जनकपुर उपमहानगरपालिकाभित्रमै घर रहेको उल्लेख गरे पनि घरभाडासहितको रकम खातामा पठाइएको सांसद साहले बताउँदै अबउपरान्त घरभाडा रकम कट्टा गÞरी बैंकखातामा रकम पठाउन प्रदेशसभा सचिवालयलाई आग्रह गरेका छन् ।

यसअघि जनकपुरमा आफ्नो घर हुँदाहुँदै प्रदेशसभा सदस्यहरूले घरभाडाबापत सुविधा बुझेको भन्दै चर्को आलोचना हुन थालेपछि केही प्रदेशसभा सदस्यले यस्तो सुविधाबापत प्राप्त हुने रकम फिर्ता गर्ने जनाएका थिए ।

रकम फिर्ता गर्नेमा साह पहिलो भए पनि यसबाट अन्य सांसदमाथि रकम फिर्ताका लागि दबाब पर्ने अनुमान गरिएको छ । 

जनकपुरमै घर भएर पनि घरभाडाबापतको सुविधा बुझ्ने सांसदमा संघीय समाजवादी फोरमका कौशलकुमार यादव र रामआशीष यादव, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालकी सुरिता साह, जयनुल राईन, परमेश्वर साह (प्रमुख सचेतक), जानकीशरण साह, रीना यादव, नेपाली कांग्रेसका रामसरोज यादव, सरस्वती चौधरी, मञ्जुकुमारी यादव, प्रमिला दास र शिवचन्द्र चौधरी तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का किशोरी साह र रामचन्द्र मण्डलको नाम सार्वजनिक भएको थियो । 

प्रदेश २ को प्रदेशसभा सचिवालयले घरभाडाबापत संसदीय दलको नेतालाई मासिक १८ हजार रुपैयाँ, विपक्षी दलका नेता र सत्तापक्षका प्रमुख सचेतकलाई मासिक २० हजार, विपक्षी दलका प्रमुख सचेतक र संसदीय समितिका सभापतिहरूलाई मासिक १८ हजार, दलका प्रमुख सचेतक र सचेतकहरूलाई मासिक १६ हजार तथा अन्य सांसदहरूलाई मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्