जब राजदूत पुरी जनकपुरबाट रेल चढेर सलल बैदही स्टेशन पुगे



जनकपुरधाम : नेपालका लागि भारतीय राजदूत मन्जीवसिंह पुरीले भारतको आर्थिक सहयोगमा निर्माण भइरहेको जनकपुर–जयनगर ब्रोडगेज रेलमार्गको बिहीबार निरीक्षण गरेका छन् ।

 

राजदुत पुरीले जनकपुरको रेल स्टेशनबाट रेल चढेर करिब १० किलोमिटरसम्म यात्रा गरेका थिए । राजदूत पुरीसहित भारतीय विदेश मन्त्रालयका पदाधिकारीहरुसमेत निर्माण कार्यको निरीक्षणमा सहभागी भएका छन् ।

 

राजदूत पुरी बैदही स्टेशनबाट फर्किए पनि विदेश मन्त्रालयबाट पुगेका पदाधिकारीहरुको टोलीले जयनगरसम्म पुगेर निर्माण कार्यको प्रगतिबारे जानकारी लिएको रेल विभागका साइट इन्जिनियर विनोद ओझाले जानकारी दिए ।

 

भारतको इर्कन कम्पनीले जनकपुर-जयनगर रेल निर्माण कार्य गर्दै आइरहेको छ । राजदूत पुरीले रेल सञ्चालन गर्ने समय थोरै बाँकी रहेको भन्दै बाँकी रहेका भवन निर्माण, रंगरोगनलगायतका कार्य यथाशीघ्र पुरागर्न समेत निर्देशन दिए ।

 

रेल विभागले २०१८ भित्र रेल गुडाउने लक्ष्य लिएको छ । पहिलो चरणमा जयनगरबाट जनकपुर हुँदै कुर्थासम्म रेल कुदाउने तयारी गरिसकेकाे छ । 

 

३४ किलोमिटर दुरी रहेको जनकपुर – कुर्था रेलखण्डमा १७ किलोमिटरसम्म सफल परीक्षण भइसकेको छ । पहिलो चरणमा भारतको जयनगरदेखि खजुरी स्टेशनसम्म करिब साढे ८ किलोमिटर र दोस्रो चरणमा खजुरीदेखि दुहबी स्टेशनसम्म ९ किलोमिटर रेलको सफल परीक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्