बरौनी पुर्‍याइएका पेट्रोलियम ट्याङ्करलाई ६ दिनपछि पिडिओ



विराटनगर : इन्धन ढुवानीका क्रममा गडबडी भेटिएको भन्दै चेकजाँचका लागि भारतको बरौनी डिपो पुर्‍याइएका ट्याङ्करलाई नेपाल आयल निगम प्रदेश १ कार्यालय विराटनगरले ६ दिनपछि ‘पेट्रोलियम डेलिभरी अर्डर’ (पिडिओ) अनुमति दिएको छ । 

चेक जाँच गर्दा चुस्त दुरुस्त देखिएको र कुनै कैफियत फेला नपरेको अवस्थामा पनि पिडिओ नदिएको भन्दै आक्रोशित बनेका पेट्रोलियम मजदुरले बिहीबार आन्दोलन गरेपछि निगमले पिडिओ दिएको हो । आन्दोलनमा उत्रिएका मजदुरले पेट्रोलियम ढुवानी नै ठप्प पारेका थिए । 

निगमले पिडिओ अनुमति नदिँदा बरौनी डिपो पुगेका ६ वटा ट्याङ्करले पुस १३ गतेबाट पेट्रोलियम ढुवानी गर्न पाएका थिएनन् । 

निगमले इन्धन चोरी नियन्त्रण गर्न ट्याङ्करमा लगाइएको मास्टर लकिङ सिस्टमका बारेमा जाँचबुझ गर्दा ६ वटा ट्याङ्करमा समस्या देखिएको बताएको थियो । आयल निगमको केन्द्रीय कार्यालयको टोलीले चेक जाँच गर्दा चाबी लगाएकै अवस्थामा लक खुलेपछि यी ट्याङ्करलाई चेकजाँचका लागि बरौनी पुर्‍याइएको थियो । 

नेपाल आयल निगम प्रदेश १ कार्यालय विराटनगरका प्रमुख दिनेश यादवले छानबिनको प्रक्रिया लामो भएका कारण कुनै कमजोरी र कैफियत नभेटिएका ट्याङ्करलाई तत्काल पिडिओ दिन नसकिएको स्वीकार गरे ।

उनले आन्दोलनका कारण नभई बरौनीमा चेक जाँच गर्दा कुनै समस्या नरहेपछि निगमको केन्द्रीय कार्यालयकै अनुमतिमा बिहीबार पिडिओ दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्