शपथपछि रेशमको गृहनगर टीकापुरमा हर्षोल्लास



कैलाली : प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको झन्डै १३ महिनापछि रेशम चौधरीलाई पद तथा गोपनीयताको शपथ गराएको खुसियाली मनाउँदै कैलालीमा बिहीबार साँझ दीपावली गरिएको छ । 

कैलालीको निर्वाचन क्षेत्र नं. १ र ३ का स्थानीयले आ–आफ्नो घरमा दीपावली गरेका छन् । निर्वाचनको मतपरिणाम घोषणा भएलगत्तै खुसीयाली मनाउन नपाएका टीकापुरलगायत ठाउँका बासिन्दाले रेशमको शपथ ग्रहणपछि खुसीयाली मनाइरहेका छन् । 

भजनी नगरपालिका–५ लालबोझीका स्थानीय रविलाल चौधरीले आफूहरूको मतको कदर भएको भन्दै ढिलै भए पनि शपथ ग्रहण गराउन हिम्मत गरेको सरकारलाई धन्यवाद दिए । 

नेपाली कांग्रेस कैलालीका क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले शथपग्रहण गराएर सरकारले राजनीतिक निकास दिएको बताए । अब चाँडै उनलाई जेलमुक्त पारेर यो क्षेत्रको विकासका लागि राज्यले वातावरण मिलाउनुपर्ने अधिकारीको भनाइ थियो । 

टीकापुरका कान्छु चौधरीले शपथग्रहण गराएको अवसरमा आफूहरूले उत्सव मनाइरहेको बताए । साथै यथाशीघ्र जेलमुक्त गरेर सरकारले रेशमलाई पूर्ण न्याय दिनुपर्ने उनको भनाइ थियो । 

संसद् सचिवालयमा सभामुख कृष्णबहादुर महराले बिहीबार चौधरीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । त्यसलगत्तै उनलाई फेरि डिल्लीबजारस्थित केन्द्रीय कारागार लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्