मेलम्चीको पानी काठमाडौं आउन कति समय लाग्छ ?



काठमाडौं: काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले हरेक वर्ष पाँचवटाजति नयाँ डिप ट्युबवेल बनाउने गर्छ । ९० वटा डिप ट्युबवेल सञ्चालन गर्दै आएको केयुकेएलले यो वर्ष पनि नयाँ ट्युबवेल खन्ने काम जारी राखेको छ ।

 

उपत्यकामा पानी अभावका कारण नयाँ ट्युबवेल बनाउनुपर्ने माग अत्यधिक रहेको उसले जनाएको  छ । तर, सञ्चालन भएरहेको र नयाँ बन्दै गरेका ट्युबवेलको पानी मेलम्चीको पानी काठमाडौं आएपछि सञ्चालन गर्न सजिलो नरहेको केयुकेएलले जनाएको छ । नयाँ पाइपलाइनबाट शुद्धीकरण गरिएको पिउनयोग्य मेलम्चीको पानी वितरण गर्ने तयारी केयुकेएलको छ ।

 

मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले अहिले मेलम्चीको पानी वितरणका लागि  बिछ्याइएको पाइपलाइन सफा गर्दै छ । मेलम्चीको पानी आएपछि पाइपलाइन पुनः निर्मलीकरण गरेर मात्र पानी वितरण गर्ने तयारी निर्देशनालयको छ ।

 

‘मेलम्चीको पानी जान नसक्ने स्थानबाहेकका स्थानमा गाडिएका ट्युबवेलमा हामीले गर्दै आएको लगानी व्यर्थमा खेर जाने सम्भावना रहन्छ,’ केयुकेएलका महाप्रबन्धक महेशकुमार भट्टराईले भने । एउटा ट्युबवेल खन्न र सञ्चालनमा ल्याउन कम्तीमा एक करोड खर्च हुने र ट्युबवेलको पानी शुद्धीकरण गरेर उपभोक्ताको धारामा वितरण गर्न र पाइपलाइन बिछ्याउन थप लाखौँ खर्च हुने उनले बताए । ९० भन्दा बढी प्रशोधन केन्द्र सञ्चालन गर्न प्राविधिक र आर्थिक दुवै रूपमा सम्भव नरहेको र प्रशोधन नगरिएको पानी मेलम्चीको पानी वितरण गरिने पाइपलाइनमा मिसाउँदा पाइपलाइन नै दूषित हुने उनको भनाइ छ ।

 

 गाडेको पाइप त्यत्तिकै पुरिनेछ

मेलम्चीको पानी वितरणका लागि उपत्यकाभरि नै नयाँ पाइपलाइन बिछ्याउने कार्य जारी छ । मेलम्चीको पानी काठमाडौं आएपछि नयाँ विछाइएको पाइपलाइनबाट पानी वितरण गरिनेछ भने पुरानो पाइप त्यत्तिकै छाडिने निर्देशनालयले जनाएको छ । लिमिटेडले नयाँ पाइप बिछ्याउन र मर्मतसम्भारका लागि बर्सेनि करिब पाँच करोड रुपैयाँ खर्च गर्दै आएको छ ।

 

‘पुरानो पाइप त्यत्तिकै छाडिने हँुदा अहिले भइरहेको खर्चको कुनै अर्थ नै हुन्न,’ महाप्रबन्धक भट्टराईले भने, ‘दुई–चार महिनाका लागि होइन, एउटा पाइपको आयु धेरै वर्षको हुन्छ । तर, मेलम्ची कहिले आउँछ भन्ने यकिन नहुँदा खर्च गर्न बाध्य हुनुपरेको छ ।’

 

नयाँ धारा र पाइपलाइन विस्तारको माग अत्यधिक

उपत्यकामा नयाँ बस्ती विस्तार तीव्र रूपमा भइरहेकाले नयाँ पाइपलाइन विस्तार र नयाँ धाराको माग अत्यधिक रहेको केयुकेएलले जनाएको छ । केयुकेएलका अनुसार पाइपलाइन विस्तार र नयाँ धाराका लागि हरेक दिन जनप्रतिनिधिसहित स्थानीय जनताको एक दर्जनभन्दा बढी डेलिगेसन आउने गरेको छ ।

 

तर, पाइपलाइन विस्तारका लागि बर्सेनि ६४ करोडजतिको माग भए पनि केयुकेएलले जम्मा चार करोड मात्र बजेट छुट्याउने गरेको छ । ‘हाम्रा हरेक शाखामा वार्षिक अनुमानित सात–आठ करोड रुपैयाँको पाइप विस्तारका लागि माग हुन्छ । केयुकेएलका नौवटा शाखा छन्,’ उनले भने, ‘तर पाइपलाइन विस्तारका लागि जम्मा चार करोड बजेट छ ।’

 

मेलम्ची आयोजना जापानिज कारको गतिमा कुदेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले मेलम्ची खानेपानी आयोजनाको कामलार्ई समयमै पूर्णता दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् । ललितपुरको बालकुमारीमा निर्माण गर्न लागिएको फोहोर पानी प्रशोधन केन्द्रको बिहीबार शिलान्यास कार्यक्रममा प्रधानमन्त्रीले आयोजनाको काममा केही अवरोध आए पनि अन्योल नै छाएको नठान्न आग्रह गरे ।

 

२७ वर्षसम्म आयोजना निर्माणको काम चिप्लेकिराको गतिमा भएको भन्दै प्रधानमन्त्री ओलीले एक वर्षयता कामले तीव्रता पाएको दाबी गरे । ‘एक वर्षयता आयोजनाको काम जापानिज कार चिल्लो सडकमा दौडिएजसरी दौडिएको छ,’ उनले भने, ‘आयोजनाको काम अघि बढाउन कुनै समस्या छैन ।’ 

 

मेलम्ची खानेपानी आयोजनाको ठेक्का लिएको इटालियन ठेकेदार कम्पनी सिएमसी दी रेभेन्नाले आयोजना सम्पन्न गर्न नसक्ने भन्दै ठेक्का रद्द गर्न (लेटर टु टर्मिनेसन) बुझाएपछि आयोजनाको भविष्यबारे अन्योल उत्पन्न भएको छ । निर्माणको कामलाई त्यत्तिकै छाडेर स्वदेश फर्केका सिएमसीका प्रतिनिधि अझै पनि आयोजनास्थल फर्किसकेका छैनन् ।

 

 मेलम्ची समयमै नआउँदा अन्योल

सन् २००१ मा सुरु भएर २००६ मा सम्पन्न हुनुपर्ने मेलम्ची खानेपानी आयोजना अहिलेसम्म पनि पूरा हुन सकेन । मेलम्चीको पानी काठमाडौं आउन अझै कति समय लाग्छ भने विषयमा अन्योल कायम रहँदा डिप ट्युबवेलमा अनावश्यक रूपमा करोडौँ रुपैयाँ खर्च गर्नुपरेको केयुकेएलले जनाएको छ । त्यस्तै, डिप ट्युबवेलको पानी वितरण गर्न पाइपलाइन बिछ्याउँदा पनि केयुकेएलको लाखौँ रुपैयाँ खर्च हुने गरेको नयाँपत्रिकामा खवर छ ।  

प्रतिक्रिया दिनुहोस्