कस्तो रह्‍यो फुटबलको वर्ष २०१८ ?



काठमाडौं:  केही रोचक प्रसंग, केही बिर्षन लायक घटना तर धेरै सम्झन लायक क्षण दिएर सन् २०१८ बिदा भएको छ। सन् २०१८ मा अन्तर्राष्ट्रिय खेलकुदमा केही रोचक घटना भए, जसले खेलकुद वृत्तमा परिवर्तनको आभास पनि दिलायो। रुसमा पहिलोपटक भएको फिफा विश्वकप फुटबल प्रतियोगितामा लुका मोड्रिचको टोली क्रोएसियाले पहिलो पटक फाइनल खेल्यो। यद्यपि उपाधि फ्रान्सले जित्यो। त्यसका लागि फ्रान्सले क्रोएसियालाई फाइनलमा ४–२ गोल अन्तरले पराजित गर्‍यो ।

 

विश्वकप फुटबलको छोटो इतिहास बोकेको क्रोएसियालाई मोड्रिचले फाइनलसम्म डोहोर्‍याउनु ठूलो सफलता रह्यो। विश्वकप फुटबलमा गरेको प्रदर्शनकै आधारमा मोड्रिच अर्जेन्टिनी लियोनल मेसी र पोर्चुगिज क्रिस्टियानो रोनाल्डोको दशक लामो वर्चश्वलाई तोड्दै फिफा विश्व वर्ष खेलाडी र बेलोन डी’ओर अवार्डबाट सम्मानित भए। यसको मतलब उनी सन् २०१८ का विश्वकै सर्वोत्कृष्ट फुटबलर चुनिए।

 

यी नतिजाका आधारमा सन् २०१८ मा फुटबल धेरै चर्चाको विषय बन्यो। क्लब फुटबलमा सबैभन्दा प्रतिष्ठित प्रतियोगिता मानिएको युरोपियन च्याम्पियन्स लिगको फाइनलमा इङ्लिस क्लब लिभरपुललाई ३–१ गोलअन्तरले पराजित गर्दै स्पेनिस क्लब रियल म्याड्रिड लगातार तेस्रो वर्ष उपाधि जित्ने पहिलो टोली बन्यो।

 

त्यसपछि गत डिसेम्बर २२ मा भएको फाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) को टोली अल अमिनलाई ४–१ गोल अन्तरले पराजित गर्दै रियलले फिफा क्लब विश्वकप फुटबलको पनि लगातार तेस्रो वर्ष उपाधि सुरक्षित गर्‍यो ।  रुसमा विश्वकप सुरु हुँदै गर्दा थाइल्यान्डमा ११ देखि १६ वर्षसम्मका १२ जना बालक फुटबलर बाढीले भरिएको गुफामा थुनिए ।

 

उनीहरूलाई १८ दिनपछि सकुशल उद्धार गरियो। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले ती बालकको उद्धार भएपछि उनीहरूलाई रुसमै विश्वकप फाइनल खेल हेर्न निमन्त्रणा दिए। यद्यपि डाक्टरको नियमित निरीक्षणमा रहनुपर्ने भएका कारण उनीहरू रुस जान सकेनन् ।

 

फुटबलपछि सन् २०१८ मा इन्डोनेसियाको जकार्तामा भएको एसियाली खेलकुद प्रतियोगिता चर्चामा रह्यो। गत अगस्ट १८ देखि सेप्टेम्बर २ तारिखसम्म सञ्चालन भएको प्रतियोगितामा एक सय ३२ स्वर्ण, ९२ रजत र ६४ कास्य पदकसहित चीनले पहिलो स्थान हात पार्‍यो।

 

सन् २०१८ को सुरुआतमै स्विस टेनिस खेलाडी रोजर फेडेरर २० वटा ग्रान्डस्लाम टेनिस प्रतियोगिताको उपाधि जित्ने पहिलो खेलाडी बने। उनले जनवरी २८ मा अस्टे«लियन ओपनअन्तर्गत रोड लेभर कप जित्दै सो सफलता हात पारेका थिए ।

 

फेब्रुअरी १६ मा उनी ३६ वर्षको उमेरमा अन्तर्राष्ट्रिय टेनिस वरीयताको पुरुष खेलाडीतर्फ शीर्ष स्थानमा रहे, जुन वरीयताले उनलाई सबैभन्दा पाको उमेरमा शीर्ष विश्व वरीयतामा पुग्ने पहिलो खेलाडी बनायो। अस्ट्रेलियाको क्रिकेटका लागि सन् २०१८ कालो बन्यो। टोलीका कप्तान स्टेभन स्मिथ, डेभिड वार्नर, क्यामेरोन बेनक्रफ्ट दक्षिण अफ्रिकाविरुद्धको टेस्ट खेलमा बल टेम्परिङ गरेका कारण प्रतिबन्धमा परे।

 

घरेलु खेलमा क्रिकेटको वर्चश्व

सन् २०१८ मा घरेलु खेलकुदमा भने क्रिकेटले ठूला सफलता हात पार्‍यो। नेपाली क्रिकेट टोलीले यही वर्ष इतिहासमै पहिलोपटक एकदिवसीय (ओडीआई) टोलीको मान्यता प्राप्त गर्‍यो। क्रिकेटपछि सन् २०१८ मा प्याराग्लाइडिङ खेलले नेपाललाई ठूलो सफलता दिलायो। इन्डोनेसियाको पालेम्बाङ र जकार्तामा भएको एसियाली खेलकुदमा नेपालले सहभागिता जनाएको २९ खेलमध्ये प्याराग्लाइडिङले एक मात्र पदकका रूपमा रजत पदक दिलाएको थियो। यो पदक नेपालका लागि एसियाली खेलकुदको ६७ वर्षे इतिहासमा मात्रै दोस्रो र पछिल्लो २० वर्षपछिको पहिलो रजत पदक बन्यो।

 

फुटबलमा नेपालले उल्लेख्य सफलता हात पार्न सकेन। वर्षको अन्तिममा शारीरिक सुगठनतर्फ महेश्वर महर्जनले नेपाललाई विश्वकपमै स्वर्ण पदक दिलाए। डिसेम्बर ११ देखि १७ सम्म थाइल्यान्डको च्याङमाईमा भएको १०औं च्याम्पियनसिपको पुरुष ७५ केजीमा महेश्वरले नेपाललाई स्वर्ण पदक दिलाएका थिए । त्यस बाहेकका खेलकुदमा नेपालले उल्लेख्य सफलता हात पार्न सकेन । अन्नपुर्णपोष्टबाट

प्रतिक्रिया दिनुहोस्