टीकापुर जाँचबुझ आयोगको प्रतिवेदन गृहले लुकायो



काठमाडौं: कैलालीको टीकापुरमा ७ जना सुरक्षाकर्मीसहित एक दूधे बालकको ज्यान जानेगरी भएको हत्याकाण्डको जाँचबुझ आयोगको प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन।

 

गृहमन्त्रालयमा थन्केको सो आयोगको प्रतिवेदन सरकारले अहिलेसम्म सार्वजनिक गरेको छैन । एक बालक तथा ७ प्रहरीको मृत्यु भएको सो घटनाको अनुसन्धान गर्न सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो तर, प्रतिवेदन भने सार्वजनिक गरेको छैन ।

 

आयोगले कैलालीको टीकापुर घटनाको मुख्य योजनाकारको विषयमा खासै बोलेको छैन। प्रहरीले रेशम चौधरीलाई टीकापुरमा ७ प्रहरी र एक बालक हत्या घटनाको प्रमुख योजनाकारका रूपमा मुद्दा दायर गरेको थियो। स्थानीय र सरोकारवालासँगको कुराकानीका आधारमा जाँचबुझ आयोगले चौधरी घटनाको पीडित भएको निष्कर्ष निकालेको थियो ।

 

प्रहरीमाथि आक्रमणको घटना पूर्वयोजना अनुरूप नै भएको उल्लेख गरिएको स्रोतले जनाएको छ। सो घटना योजनाबद्ध नै भएको आयोग प्रतिवेदनमा उल्लेख गरे पनि समितिका सदस्यहरू भने यसबारेमा बोल्न चाँहदैनन् । सर्वोच्चका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठिन जाँचबुझ आयोगमा सुरुमा ७ जना सदस्य थिए । आयोगका सदस्य खुसीप्रसाद थारू उच्च अदालतको न्यायाधीशमा नियुक्त भएपछि आयोग ६ जनामा सीमित भएको थियो ।

 

स्थलगत अवलोकन, उजुरी तथा सरोकारवाला पक्षहरूसँगको छलफलपछि आयोगले प्रतिवेदन तयार पारेको हो । आयोगमा नेपाल प्रहरीका पूर्व एआइजी नवराज ढकाल, राष्ट्रिय अनुसन्धान विभागका अवकाशप्राप्त डिआइजी सुखचन्द्र झा, पूर्व नायब महान्यायाधिवक्ता सूर्य कोइराला र कानुन व्यवसायी सुरज लोप्चन सदस्य थिए। त्यसमा गृह मन्त्रालय शान्ति सुरक्षा महाशाखाका तत्कालीन सहसचिवले आयोगको सदस्य सचिव थिए ।

 

आयोगले ७ सय पेजको प्रतिवेदन तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको थियो । सो प्रतिवेदन हाल गृहमन्त्रालयमा थन्किएको छ। तत्कालिन गृहमन्त्री शक्ति बस्नेत र जनार्दन शर्माले त्यसलाई सार्वजनिक गर्ने घोषणा गरेका थिए। स्रोतका अनुसार टीकापुर छेउछाउका गाउँबाट स्थानीयलाई मदिरा पिलाएर ल्याइएको र आक्रमण नै गर्न लगाइएको उल्लेख गरिएको छ । आयोगले सुरक्षा अधिकारीलाई कारबाहीको सिफारिस गरेको थियो। आयोग स्रोतका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र सिडिओलाई समेत कारबाहीको सिफारिस गरेको नागरिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्