समायोजनको विरोधमा स्थानीय निकाय कर्मचारीको हडताल



वीरगन्ज: संघीय मामिला तथा समान्य प्रसाशन मन्त्रालयले गरेको कर्मचारी समायोजनले साविकका स्थानीय निकाय कर्मचारीलाई बेवास्ता गरिएको भन्दै वीरगन्ज महानगरपालिकामा कर्मचारी हडतालमा उत्रिएका छन् । चरणबद्ध आन्दोलनका क्रममा बिहीबारदेखि सुरु गरिएको हडतालका कारण यहाँ दिनभर कार्यालयको कामकाज ठप्प रह्यो ।

 

यसअघि स्थानीय निकायतर्फका कर्मचारीले नगरप्रमुख विजय सरावगी र प्रमुख प्रसाशकीय अधिकृतलाई लिखित रूपमा आफ्ना माग राख्दै त्यसलाई नगर कार्यपालिका र नगरसभामार्फत नीतिगत निर्णय गरेर कार्यान्यवन गर्न भनेका थिए।

 

‘पटकपटक ध्यानाकर्षण गराउँदा पनि नगर कार्यपालिका र नगरसभाबाट पारित नगराई कथित संगठन तालिका एवम् दरबन्दी लागु गर्न खोजिएको’ स्थानीय तह कर्मचारी संघ नेपाल र नेपाल नगरपालिका कर्मचारी एसोसिएसन वीरगन्ज एकाइबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ।

 

‘यस नगरको आयश्रोत र साधनले धान्नै नसक्नेगरी निजामतीतर्फका कमचारी थुपार्ने काम भएको र स्थानीय तह कर्मचारीलाई होच्याइएकोले पुस १९ देखि सम्पूर्ण कामकाज अनिश्चितकालका लागि ठप्प रहने भेलामार्फत निर्णय गरिएको’ विज्ञप्तिमा उल्लेख छ । सो भेला बुधबार भएको थियो ।

 

कर्मचारीका मागको सुनुवाइ नभएपछि बाध्य भई आन्दोलनमा उत्रिनुपरेको स्थानीय तह कर्मचारी संघ नेपाल, वीरगन्ज महानगरपालिकाका अध्यक्ष मुकेश गुप्ताले बताए । मन्त्रालयको निर्णय निरंकुश शैलीमा आएको स्थानीय निकायतर्फका कर्मचारीको आरोप छ। यता निजामतीतर्फका कर्मचारीले मन्त्रालयको निर्णय स्वीकार गर्दै हडतालमा संलग्नता जनाएका छैनन् ।

 

‘उहाँहरूले विज्ञप्तिमार्फत उठाउनुभएको विषय नगरको आयश्रोत र साधनले धान्नै नसक्ने कुरामा हामीले पहिलेदेखि नै अग्रसरता लिसकेका छौं,’ वीरगन्ज महानगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत डा. भिष्मकुमार भुसालले भने, ‘पूर्वसचिव मुकुन्दराज प्रकाश घिमिरे र तत्कालीन वीरगन्ज उपमहानगरपालिका कार्यालयका पूर्वकार्यकारी अधिकृत ताराबहादुर कार्कीको टोलीले अहिले संगठन तथा व्यवस्थापन सर्वेक्षणको काम गरिरहेको छ।’ सो सर्वेक्षणले अहिले देखिएका आशंकालाई लेखाजोखा गर्दै निकाससमेत बताउने भएकोले आफूहरू त्यसलाई पर्खेको उनले बताए। यता कर्मचारी हडतालले सर्वसधारणलाई मर्का परेको नागरिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्