माधव जीसँग मेराे २०२९ सालदेखि घनिष्ट सम्बन्ध छ: प्रधानमन्त्री अाेली



काठमाडाैं: प्रधानमन्त्री केपी ओली संयुक्त राष्ट्र संघको महासभामा सहभागी भएर बिहिबार स्वदेश फर्किएका छन् । 

 

संयुक्त राष्ट्र संघको ७३ औं महासभामा भाग लिएर प्रधानमन्त्री ओली बिहिबार अपरान्ह स्वदेश फर्किएका हुन् । त्यस अवसर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री इश्वर पोखरेल, नेपाल कम्युनिष्ट पार्टीका नेताहरु बामदेव गौतम, सुवाष नेम्वाङलगायतका नेताहरुले प्रधानमन्त्री ओलीको स्वागत गरेका थिए । त्यसैगरी प्रधानमन्त्री ओलीको स्वागतमा नेपाली सेनाले सलामी समेत अर्पण गरेको थियो ।

 

प्रधानमन्त्री ओलीले आफ्नो संयुक्त राष्ट्रको भ्रमण हालसम्मकै सबैभन्दा उपलब्धिमूलक भएको बताउ । उनले अमेरिका, बेलायत, क्यानडालगायतका सरकार प्रमुख, राष्ट्र प्रमुखसँग भएको भेटवार्ता हालसम्मकै प्रभावकारी भएको उल्लेख गर्दै त्यसको प्रभाव समयक्रममा देखापर्दै जाने विश्वास पनि व्यक्त गरे ।

 

 प्रधानमन्त्री ओलीले आफूले महासभाको बैठकमार्फत विश्वलाई नै नेपालको राजनीतिक उपलब्धिका सम्बन्धमा, सरकारका नीतिका सम्बन्धमा दुविधा नहुनेगरी स्पष्ट सन्देश दिएको पनि स्मरण गराए ।

 

प्रधानमन्त्री ओलीले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको असन्तुष्टिलाई ठूलो बहसको विषय नबनाउन पनि आग्रह गरे । उनले नेता नेपालसँग २०२९ सालदेखि घनिष्ट सम्बन्ध रहेको भन्दै ढुक्क हुन आग्रह गरे । 

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीको प्रश्नको जवाफ दिँदै नेता नेपालको असन्तुष्टि सम्बन्धि समस्या २-४ दिन भित्रै समाधान हुने प्रतिक्रिया दिए । उनले सरकारले एउटा पनि गल्ती नगरेको दावी पनि गरे । प्रधानमन्त्री ओलीले सरकार ५ वर्षसम्म चल्ने दाबी पनि गरे ।

प्रधानमन्त्री ओली अमेरिका रहेका बेला वरिष्ठ नेता नेपालले प्रदेश कमिटी एकीकरणमा असन्तुष्टि जनाउँदै संसदमा सम्बोधन र पार्टी स्थायी समिति बैठक बोलाएका थिए । संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गरेका प्रधानमन्त्री ओलीले कोष्टारिकाको पनि भ्रमण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्