चन्द्रमामा चिनियाँ सफलता



बेइजिङ: चिनियाँ यान पहिलोपटक चन्द्रमाको रहस्यमयी खाडलको सतहमा अवतरण गरेको छ। चीनको अन्तरिक्ष एजेन्सीले बिहीबार स्थानीय समयअनुसार बिहानको १० बजेर २६ मिनेटमा चाङ ई—४ नामको यान अवतरणको औपचारिक घोषणा गरेको हो ।

 

यान पृथ्वीबाट टाढा पर्ने पल्लोछेउको खाडलमा अवतरण भएपछि चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासनले मानवद्वारा चन्द्रमाको खोजीमा नयाँ अध्याय सुरु भएको उल्लेख गरेको छ। पृथ्वीबाट चन्द्रमाको एउटा छेउ मात्र देखिन्छ। पृथ्वीबाट नदेखिने क्षेत्रलाई ‘अन्धकार क्षेत्र’ भनिन्छ। नासाको एपोलो मिसनअन्तर्गतको यान पृथ्वीबाट देखिने क्षेत्रमा अवतरण गरेको थियो ।

 

यसअघि चन्द्रमामा पुगेका यानले पृथ्वीको पल्लो क्षेत्रको अवलोकन मात्र गरेका थिए तर अवतरण गरेका थिएनन्। पृथ्वीबाट नदेखिने चन्द्रमाको पल्लो छेउको सतहमा पहिलोपटक यान अवतरण हुनुलाई विश्वभरका वैज्ञानिक र विज्ञानसँग सम्बन्धित संघसंस्थाले विज्ञानका क्षेत्रमा विशेष उपलब्धि भनेका छन्। चिनियाँ यान अवतरणप्रति अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ट्विटमार्फत बधाई दिँदै भनेको छ, ‘यो मानवताका लागि नयाँ र प्रभावकारी सफलता हो।’

 

अवतरण भएको यानले तस्बिरहरू पठाएको छ। पहिलोपटक चन्द्रमाको दूर कुनामा अवतरण भएपछि नजिकको तस्बिर पठाएको हो। अन्तरिक्षमा प्रभाव जमाउने होडबाजीमा चीन निकै ढिलो गरी सहभागी भएको हो। तर, उसले छोटो समयमा संयुक्त राज्य अमेरिका र रुसजस्ता अन्तरिक्षको प्रतिस्पर्धामा अगाडि रहेका देशलाई उछिन्ने दिशामा बढेको विश्लेषण अन्तरिक्षसम्बन्धी ज्ञाताहरुले गरेका छन् ।

 

 पृथ्वीबाट नदेखिने चन्द्रमाको पल्लो छेउको सतहमा पहिलोपटक यान अवतरण हुनुलाई विश्वभरका वैज्ञानिक र विज्ञानसँग सम्बन्धित संघसंस्थाले विज्ञानका क्षेत्रमा विशेष उपलब्धि भनेका छन् । मकाउ विश्वविद्यालयको विज्ञान र प्रविधि विषयका प्राध्यापक जु मेङहुवाले भने, ‘यो अन्तरिक्ष मिसनले चीन गहिरो अन्तरिक्ष खोजमा उन्नत अवस्थामा पुगेको देखाएको छ।’ अमेरिकीहरुले प्रयत्न नगरेको कार्य चिनियाँ जनताले गरेर देखाएको उनले बताए ।

 

चिनियाँ यान अवतरण भएको खाडल चन्द्रमाको सबैभन्दा पुरानो र गहिरोमध्येको भएकाले चन्द्रमाको उत्पत्तिका बारेमा थप तथ्य थाहा हुने अपेक्षा गरिएको छ। तर, केही वैज्ञानिकहरुले यान अवतरण भएको क्षेत्रमा खनिज हुनसक्ने अनुमान गर्दै चीन चन्द्रमाको स्रोत दोहनमा केन्द्रित हुन सक्ने आशंका व्यक्त गरेका छन्। आलोचकहरुले प्राविधिक र सांकेतिक रुपमा महत्त्वपूर्ण उपलब्धि भए पनि चीनले चन्द्रमामा उपनिवेश खडा गर्ने दीर्घकालीन लक्ष्य लिएको विश्लेषण गरेका छन् । नागरिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्