राष्ट्र बैंकमा डेपुटी गभर्नरमाथि डण्डा चलाउँदा कार्यकारी निर्देशकहरु सोत्तर



काठमाडौं : नेपाल राष्ट्र बैंकको डेपुटी गर्भनर शिवराम श्रेष्ठमाथि कारबाहीको अन्तिम तयारी भइरहँदा राष्ट्र बैंकमा अवकाश लिने र बढुवा हुनका लागि चलखेल शुरु भएको छ । श्रेष्ठलाई विवादमा तानेर नेपाल राष्ट्र बैंकका प्रवक्ता समेत रहेका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्ना निरौलाको डेपुटी गभर्नर बन्ने सपना पनि तुहिन थालेको छ ।

उता डेपुटी गभर्नर श्रेष्ठमाथिको छानविनका क्रममा गभर्नर चिरन्जीवी नेपाललगायत बैंकका उच्च अधिकारीहरुको पनि संलग्नता देखिएपछि उनीहरुलाई जोगाउन चलखेल भएको बताइन्छ । यसैबीचमा बनेका सिनियर अधिकृतहरुको अवकाश पनि हुँदैछ । यसरी अवकाश हुनेमा कार्यकारी निर्देशकहरु लक्ष्मीप्रपन्न निरौला, महेश्वरलाल श्रेष्ठ, सरिता भट्ट अधिकारी र सुनिल उदास रहेका छन् ।

निरौला मुद्रा व्यवस्थापन विभागको प्रमुखका रूपमा कार्यरत रहेका छन् । श्रेष्ठ संस्थागत योजना विभागमा कार्यरत रहेका छन् । अवकाश पाउनेमध्ये दुई जना बिदामा बसिसकेका छन् । विदेशी मुद्रा व्यवस्थापन विभागको प्रमुखका रूपमा कार्यरत अधिकारी र फाइनान्स कम्पनी सुपरिवेक्षण विभागको प्रमुख रहेका थिए ।

राष्ट्र बैंकबाट जागिर छोडेका र अवकाश भएकाहरू नै अहिले देशका चर्चित वाणिज्य बैंकहरूको अध्यक्ष, कार्यकारी अधिकृत, डिपुटी कार्यकारी अधिकृतजस्ता पदहरूमा कार्यरत छन् । यसमानेमा पनि राष्ट्र बैंकको निर्देशक पद महत्वपूर्ण हुन्छ । अहिले राष्ट्र बैंकमा चारजना कार्यकारी निर्देशकहरुले अवकाश पाउँदैछन् ।

उनीहरूको अवकाशसँगै रिक्त कार्यकारी निर्देशकको बढुवामा कानुन महाशाखा प्रमुख रेवतीप्रसाद नेपाल र वित्तीय जानकारी इकाइ प्रमुख रामु पौडेल बढुवा हुने बताइन्छ । यस्तै बैंक सुपरिवेक्षण विभागमा कार्यरत विश्रुत थापा र विकास बैंक सुपरिवेक्षण विभागमा कार्यरत रामबहादुर मानन्धर कार्यकारी निर्देशकको लाइनमा रहेका छन् ।

यसअघि राष्ट्र बैंकको तर्फबाट महेश्वरलाल श्रेष्ठ नेपाल बैंकको सुधार गर्न राष्ट्र बैंकले हस्तक्षेप गरेका बेला प्रमुख कार्यकारी अधिकृतका रूपमा समेत कार्यरत भइसकेका थिए भने लक्ष्मीप्रपन्न निरौला एनसिसी बैंक समस्याग्रत अवस्थामा हुँदा सुधारका लागि भन्दै राष्ट्र बैंकबाट बैंकको सञ्चालक समितिको अधिकारसमेत लिएर व्यवस्थापन समितिको प्रमुख भएका थिए ।

प्रतिक्रिया दिनुहोस्