विकास खर्च कटौती गरेर सवारीसाधन खरिद गर्दै जनप्रतिनिधि



प्युठान : विकास खर्च कटौती गरेर प्युठानका जनप्रतिनिधिले सवारीसाधन खरिद गर्न थालेका छन् । उनीहरूले नगरपालिका मेयर र उपमेयर, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा सबै वडाध्यक्षका लागि सवारीसाधन खरिद गरेका छन् । 

प्युठानका ऐरावती र झिमरुक गाउँपालिकाले मात्रै सवारीसाधन खरिद गरेका छैनन् । अन्य सातै स्थानीय सरकारले मेयर–उपमेयर तथा अध्यक्ष–उपाध्यक्षका लागि स्कारपियो खरिद गरेका छन् ।

त्यस्तै, नगरपालिका र गाउँपालिकाले सबै वडाध्यक्षका लागि महँगा मोटरसाइकल खरिद गरेका छन् । प्युठान नगरपालिकाले स्थानीय तहको निर्वाचनअघि नै करिब ४० लाखमा स्कारपियो खरिद गरेको थियो । मेयर अर्जुनकुमार कक्षपति त्यही स्कारपियोमा चढ्ने गरेका छन् । 

कसले कतिमा किने स्कारपियो ?

मल्लरानी गाउँपालिकाले ५४ लाखमा स्कारपियो खरिद गरेको छ । जेठमै नयाँ गाडी खरिद गरिएको प्रशासकीय अधिकृत शोभाराम रिजालले बताए । गाडी भाडामा धेरै रकम जान थालेपछि गाडी किनेको उनको भनाइ छ ।

त्यस्तै, सरुमारानी गाउँपालिकाले अध्यक्ष झगबहादुर विश्वकर्माका लागि ४५ लाख रुपैयाँमा टाटा गाडी किनेको छ । गाउँपालिकाले नयाँ मोटरसाइकल पनि केही साताअघि मात्रै खरिद गरेको छ । यसअघि किनेका ६ मोटरसाइकल र दुई स्कुटर चालू अवस्थामै छन् ।

गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु गिरीका लागि स्कारपियो खरिद गरिएको छ । उनले ४० लाखमा किनिएको बताए । त्यस्तै, गाउँपालिकाले सातै वडाध्यक्षका लागि पल्सर मोटरसाइकल खरिद गरिएको छ ।

यसैगरी माण्डवी गाउँपालिकाले ३७ लाख ५० हजार रुपैयाँमा स्कारपियो खरिद गरेको छ । वडाध्यक्षहरूका लागि पल्सर मोटरसाइकल किनेको सूचना अधिकारी ज्योतिप्रकाश पौडेलले बताए ।  स्वर्गद्वारीले ४० लाख रुपैयाँमा स्कारपियो किनेको छ ।

पहिले सचिवले प्रयोग गरेको मोटरसाइकल वडाध्यक्षले प्रयोग गरिरहेका छन् । नौबहिनीले ३७ लाख ५० हजारमा अध्यक्ष शिवराज रिजालका लागि स्कारपियो किनेको छ । नौबहिनीका आठै वडाध्यक्षका लागि मोटरसाइकल खरिद गरिएको प्रमुख प्रशासकीय अधिकृत थानेश्वर भण्डारीले बताए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्