प्रदेश ३ : जनप्रतिनिधिको तलब ८७ प्रतिशत बढ्यो



मकवानपुर: प्रदेश ३ सरकारले प्रदेश मातहतका जनप्रतिनिधिको खाइपाइ आएको तलबमानमा ८७ दशमलव ५ प्रतिशतसम्म वृद्धि गरेको छ ।  बिहीबार बसेको प्रदेश ३ सरकारको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका कार्यपालिका सदस्यहरूको सेवा सुविधा बढाउने निर्णय गरेसँगै तलब ८७ दशमलव ५ प्रतिशतसम्म बढेको हो ।

 

केन्द्रीय सरकारले खर्च कटौतीका लागि मितव्ययी नीति अघि सारिरहेका बेला प्रदेश सरकारको यो निर्णय आएको हो । बैठकले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँ कार्यपालिका सदस्यहरूको सेवा सुविधा एकैपटक झन्डै दोब्बर वृद्धि गरेको हो । निर्णयअनुसार ८ हजार मासिक तलब बुझ्दै आएका महानगर कार्यपालिका सदस्यले अब मासिक १५ हजार पाउनेछन् ।

 

यो वृद्धि ८७ दशमलव ५० प्रतिशत हो ।सरकारको यो निर्णयसँगै उपमहानगरका सदस्यहरूले अब मासिक १३ हजार रुपैयाँ तलब पाउनेछन् । यसअघि उनीहरूले ७ हजार ५ सय रुपैयाँ तलब पाउँदै आएका थिए । उपमहानगरपालिका सदस्यको तलब भने ७३ दशमलव ३३ प्रतिशतले बढेको छ ।

 

नगरपालिका सदस्यहरूले भने अब मासिक ११ हजार रुपैयाँ पाउनेछन् । यसअघि उनीहरूले ७ हजार रुपैयाँ बुझ्दै आएका छन् । यो वृद्धि ५७ दशमलव १४ प्रतिशत हो । सबैभन्दा कम तलब भने गाउँ कार्यपालिका सदस्यको बढेको छ । उनीहरूको भने जम्मा १६ दशमलव ६७ प्रतिशत तलब वृद्धि भएको छ । गाउँपालिका सदस्यहरूले ७ हजार रुपैयाँ पाउनेछन् । यसअघि ६ हजार रुपैयाँ तलब थियो ।

 

बिहीबार बसेको बैठकले नुवाकोटमा भएको सवारी दुर्घटनामा मृत्यु भएका परिवारलाई राहतस्वरूप प्रदेश सरकारको तर्फबाट १÷१ लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ । सरकारका प्रवक्तासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलका अनुसार बैठकले कृषि क्षेत्रको विकासका लागि सातवटा कार्यविधि पनि पारित गरेको छ ।

 

प्रदेशको भौगोलिक बनावटअनुरूप भैंसीपालन, सामूहिक खेती, गाईपालन, चौंरी पालन र बोका बाख्रापालनका कार्यविधि बनाइएको मन्त्री ढुंगेलले बताए । बैठकले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको राजनीतिक सल्लाहकारमा तत्कालीन एमालेका चितवन जिल्ला पूर्वअध्यक्ष जगन्नाथ थपलियालाई नियुक्त गर्ने निर्णय गरेको राजधानीमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्