गाडी किन्दा ध्यान दिनुपर्ने कुरा



काठमाडौं: विगतमा गाडी विलासिताको साधनका रूपमा बुझिन्थ्यो। अहिले बदलिँदो समयअनुसार गाडी आवश्यकता बनेको छ। आर्थिक अवस्थाले धान्न सक्ने भएपछि गाडीको सपनालाई साकार पार्नु अस्वाभाविक पनि होइन। अहिले गाडी किन्ने मौसम छ।

 

गाडी किन्नुअघि तपाईंले ध्यान दिनुपर्ने धेरै कुरा छन्। केही मुलभूत कुरामा ध्यान पु‍र्‍याइएन भने भविष्यमा पछुताउनुपर्ने अवस्था पनि आउँछ। गाडी किन्दा चुकियो भने लाखौंको लगानी खेर जानसक्छ। त्यसैले कार किन्नुअघि यस्ता केही विषय मनन् गरौं, जसले भोलि पछुताउनु नपरोस्।

 

तपाईं कार किन्ने हो भने पहिले यसबारे स्पष्ट योजना बनाउनुस्। परिवार, साथीभाइ र आफन्तजनसँग सरसल्लाह गर्नुस्। सुरुवातमा म कुन मूल्यसम्मको कस्तो कार किन्छु भन्ने कुरा जानेबुझेकैसँग सोध्नुस्। यो समयमा अन्तिम निर्णय गरिहाल्नुपर्दैन। आफ्ना रोजाइका केही कारलाई मात्र विकल्पमा राख्नुस्।

 

आफूले कसरी कारमा लगानी गर्ने र ऋणको व्यवस्थापन कसरी गर्ने भन्ने योजना बनाउनुस्। यसमा आफूले अफोर्ड गर्न सक्ने मात्रै कार किन्ने निर्णय गर्दै त्यसका लागि रकम व्यवस्थापन गर्नुस्। भैपरी आउने अप्ठेरो अवस्थामा पनि गाडीको नियमित किस्ता तिर्न सक्ने वातावरणका लागि तयार रहनुस्। कम ब्याजदरमा अटो लोन लिने गरी बैंकसँग परामर्श गर्नुस्।

 

मूल्यमा सम्झौता गर्दा तपाईंले कमजोर पर्फर्मेन्स भएको गाडी रोज्ने खतरा हुन्छ। यसो भन्दैमा आफूले ‘अफोर्ड’ नै गर्न नसक्ने महंगो गाडी किन्नुपर्छ भन्ने होइन। बजेटलाई ध्यान दिनैपर्छ। तर, थोरै मूल्य अन्तरमा सम्झौता गरेर गाडी किन्दा तपाईंलाई भविष्यमा पछुताउनुपर्ने हुन सक्छ। त्यसैले मूल्यभन्दा बढी गाडीको पर्फर्मेन्सलाई हेर्नुस्।

 

छुट कति दिइएको छ भनेर आकर्षित हुँदा राम्रो गाडी तपाईंको नबन्न सक्छ। गाडी किन्दा आफ्नो ठाउँमा कुन ब्राण्डले राम्रो गरिरहेको छ भन्ने कुरालाई विशेष ध्यान दिनुपर्छ। कम्पनीको सर्भिस नेटवर्क के छ ? पाट्र्सको उपलब्धता कति सहज छ ? लगायतका विषयमा पनि ब्राण्डले खास अर्थ लाग्छ।

 

आफू अपग्रेड हुने समयमा आफूले लगानी गरेको गाडी उत्कृष्ट ब्राण्डको छैन भने समस्या हुनसक्छ। महंगोमा किनेको गाडी छोटो समयभित्रै निकै कम मूल्यमा बिक्री गर्नुपर्ने अवस्था आउँछ। कमजोर ब्राण्डका गाडी किनेको एक, दुई वर्षमै रिसेल भ्याल्यू निकै घट्छ।

 

सडकमा जुन कम्पनीको गाडीको भिजिबिलटी जति बढी हुन्छ, त्यति नै रिसेल भ्याल्यू बढी हुन्छ। जसले गाडी किन्दा ब्राण्डमा ध्यान दिन्छ, उसले पछि गाडी बेच्दा पनि पछुताउनुपर्दैन। कम्पनीको जति बढी गाडी बिकेको हुन्छ त्यो गाडी रिसेल मूल्य स्वतः बढी आउँछ। राम्रो ब्राण्डले तपाईं चढेको गाडीको महत्वलाई अझ विशेष बनाउँछ।

 

कतिपय मान्छे कार किन्ने धुनमा शोरुम पुग्नासाथ कुन किन्ने भन्ने निर्णयमा पुगिहाल्छन्। तर, यसो गर्नुहुँदैन। कार किन्ने निर्णय गर्नुअघि पर्याप्त समय लिनुस्। तपाईं पहिलोपटक शोरुम जाँदै हुनुहुन्छ भने कार किन्न होइन हेर्न जाँदैछु भन्ने धारणा बनाउनुस्। हतारको निर्णयले तपाईंलाई फाइदा हुँदैन। तपाईंले विकल्पबाट छान्नु भएको एउटा कारबारे पनि अझै अध्ययन र विमर्श गर्नुस्। गाडी चढ्दा वन्डरफुल फिलिङ्स गर्न सकिएन भने मजा हुँदैन। गाडी किन्नेले ‘म सँगै को–प्यासेन्जर पनि बस्छन्’ भन्नेमा ध्यान दिनुपर्छ। यसका लागि लेगरुम राम्रो हुनुप‍र्छ। हेडरुम पनि हुनुपर्छ। नेपालको बाटोको दुरावस्था सबैलाई थाहा छँदैछ, त्यसैले सस्पेन्सन कस्तो छ ? भन्नेसमेत बुझ्नुपर्छ। गाडी किन्नुअघि यो लंग टर्मका लागि ठिक हुन्छ कि हुँदैन भन्नेमा चिन्ता गर्नुपर्छ।

 

कम्फर्ट फिचर्समा ध्यान दिइएन भने अफरोडमा धेरै समस्या आउन सक्छ। गाडीमा चढ्दा आराम मिलेन भने मान्नुस् त्यो गाडीले तपाईंलाई सन्तुष्ट गर्न सक्दैन। गाडीका फिचर्सबारे ग्राहकसचेत हुनैपर्छ। गाडी किन्नुअघि त्यसका विभिन्न फिचर्समा पनि ध्यान दिनुपर्छ। यदि तपाईं समय समयमा ट्राभलका लागि निस्किरहनु हुन्छ भने बुट स्पेस कति छ भन्नेमा होस पु‍र्‍याउनुस्। आफ्नो आवश्यक्ता अनुसारको बुट स्पेस भएका गाडी किन्ने प्रयत्न गर्नुहोस् ।  अन्नपुर्णपोष्टबाट

प्रतिक्रिया दिनुहोस्