मलेसिया जेलमा रहेका नेपालीलाई छुटाइदिने भन्दै यसरी ठग्छन् लाखौं



काठमाडौं: मलेसियामा जेल परेका श्रमिकलाई छुटाइदिने भन्दै परिवारलाई ठग्ने गिरोह सक्रिय रहेको पाइएको छ । यस्तो ठगी मलेसिया प्रहरीसँग मिलेमतोमा हुने गरेको छ। मलेसियाले गैरकानुनी हैसियतका श्रमिकलाई थुन्ने र सजाय पूरा भएपछि ‘डिपोर्ट’ गर्ने अभियान चलाएसँगै दलालले ठगी धन्दा बढाएका हुन् ।

 

उनीहरूले जेल परेका श्रमिकलाई भेटेर परिवारको सम्पर्क नम्बर लिई रकम असुल्ने गरेको खबर कान्तिपुरमा छ । ‘मलाई छुटाइदिन्छु भन्दै परिवारसँग दुई लाख २१ हजार रुपैयाँ लिएको रहेछ,’ युवराज आचार्यले कान्तिपुरसँग भने, ‘नेपाल आएपछि मात्रै थाहा पाएँ ।’

 

उनका आफन्तले उदयपुरका सुमन लिम्बूलाई पैसा पठाइदिएका थिए । २०१२ नोभेम्बर ९ मा युनाइटेड एचआर सोलुसनबाट मलेसिया गएका आचार्य एक वर्षपछि मेडिकल परीक्षणमा फेल भए । कम्पनीले नेपाल पठाइदिन लागेपछि भागेर अन्तै काम गरिरहेका थिए । गत जुन ६ तारिखमा पक्राउ परे।

 

‘मसँग १३ सय ५० मलेसियन रिङगेट र दुइटा स्मार्ट फोन थियो, प्रहरीले त्यो केही फिर्ता गरेन, मलाई लेगजिङ क्याम्प र सुन्नाई बुलोह जेलमा ५ महिना राख्यो,’ उनले भने । जलान कार्ड  (मलेसियामा बस्न दिइएको परिचयपत्र) हुनेले एक सातामा जेलमा रहेको एक नेपालीलाई भेट्न पाउँछ । प्रहरीसँग चिनजान हुनेले भने एकैपटक धेरैलाई भेट्न सक्छन् ।

 

इलाम नगरपालिका-१, साँखेजुङका लालबहादुर तामाङ मलेसिया जेलमा थिए । गत मंसिर ११ गते नेपालमा रहेकी पत्नी मनमायालाई फोन आयो, ‘तपाईंका श्रीमान्लाई छुटाउन धरौटी राख्नुपर्ने भयो, तुरुन्तै ३ लाख रुपैयाँ पठाइदिनुहोला, छुट्ने बेला सबै फिर्ता हुनेछ।’

 

फोन गर्नेले आफ्नो नाम राजदेव साह बताए । घर सप्तरी । मनमायाले गाउँघरबाट मलेसिया गएकालाई सोधेर मात्र पैसा पठाउने विचार गरेकी थिइन् तर फोनमा चेतावनी दिइयो, ‘यसबारे कोहीसँग बोल्ने होइन । गोप्य रूपमा छुटाउन लागेको हो । पैसा नपठाए श्रीमान् जिन्दगीभर जेलमै सड्छ।’

 

मनमायाले मंसिर १३ गते आईएमईबाट नीराजन विष्ट र राम रायका नाममा २ लाख ८२ हजार रुपैयाँ पठाइदिइन् । ‘पैसा त पठाउँला तर भोलि श्रीमान् नछुटे के गर्ने भनेर सोधेकी पनि हुँ,’ उनले भनिन्, ‘तैंले पैसा पनि हाल्नुपर्दैन, खुरुक्क फिर्ता जा भनेर उल्टै गाली गर्‍यो ।’

 

लालबहादुर घर नफर्केको १० वर्ष भइसकेको थियो । गैरकानुनी हैसियतमा बसेकाले जेल परेका थिए । गम्भीर प्रकृतिको अपराध नभएकाले जम्मा तीन महिनाको सजाय थियो । उनी पुस १ गते स्वदेश फिरेपछि पत्नीलाई दलालले ठगेको थाहा पाए ।

 

‘जेलबाट निस्कन टिकट मात्रै चाहिने हो । धरौटीबापत एक पैसा पनि कसैलाई तिर्नुपर्दैनथ्यो,’ लालबहादुरले भने, ‘जेलभित्र परेको मौकामा दलालले मेरो परिवारलाई ठगेछ ।’

 

अस्लम मियाँलाई छुटाउने बहानामा पनि सुमन लिम्बूले त्यसैगरी रकम असुले । ‘जेलबाट घरफिर्ती केन्द्रमा आइसकेको थिएँ, प्रहरीले घर फिर्ने मिति तोकेको थियो । टिकट चाहिएको थियो ।

 

त्यही बेला सुमन लिम्बूले भेटेर टिकट मगाइदिन्छु भन्दै मेरो परिवारको नम्बर लग्यो,’ अस्लम मियाँले भने, ‘परिवारलाई तर्साएर ३ लाख ५२ हजार रुपैयाँ उठाएछ ।’ प्रहरीसँग मिलेमतोबिना सोझै जेल आउन नपाउने उनले बताए । ‘मैले उसलाई कहिल्यै चिनेको थिइनँ । कसरी हामीलाई भेट्न जेलभित्रै आइपुग्यो,’ उनले भने, ‘यसमा पूरै सेटिङ चलेको रहेछ ।’

 

सम्सद मियाँको परिवार ४ लाख रुपैयाँमा ठगिएको छ । ‘धरौटी बुझाउनुपर्छ भन्दै रकम लिएका रहेछन्,’ उनले भने, ‘केन्द्रीय प्रहरी अनुसन्धान विभागमा उजुरी दिएको छु । श्रममन्त्रीलाई भेटेर जानकारी गराएको छु, त्यस्ता ठगलाई कारबाही होस् र हाम्रो पैसा फिर्ता होस् ।’

 

मलेसियामा नेपाली श्रमिकका हितमा कार्यरत प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुलबहादुर कार्कीले जेलमा रहेकाका परिवारमाथि ठगी बढिरहेको बताए । ‘हरेक दिनजसो दलालले पैसा खाइदिएको गुनासो आइरहेको छ,’ उनले भने ।

 

मलेसियाको पेनाङस्थित जनउद्धार केन्द्रका अध्यक्ष केशु थापा जेलमा रहेका नेपालीलाई नेपालीले नै खुलेआम ठगेको बताउँछन् । ‘यस्ता विषय लुकेका छैनन्,’ उनले भने, ‘कारबाही नहुँदा दलालको मनोबल थप बढेको छ ।’

प्रतिक्रिया दिनुहोस्