साङला, झिंगा मिसाइएकाे भेटिएपछि गौशालाको मिठाई पसलमा पनि शिलबन्दी



काठमाडाैं : सरकारले काठमाडौंको गौशालास्थित दुई वटा मिठाई पसलमा पनि शिलबन्दी गरेको छ । 

 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन टोलीले बिहीबार मानव स्वास्थ्यमा गम्भिर असर पार्ने खालका बस्तु मिसावट भएको पाइएपछि गौशालास्थित व्यञ्जन मिठाई पसल र अन्नपूर्ण मिठाई पसलमा शिलबन्दी गरेको हो । 

 

झिंगा, साङलाजस्ता मानव स्वास्थ्यमा गम्भिर नोक्सान पुर्‍याउने खालका वस्तुहरु मिसावट भएको पाइएपछि दुवै मिठाई पसल शिलबन्दी गर्नु परेको विभागका खाद्य अनुसन्धान अधिकृत इश्वर सुवेदीले जानकारी दिए । 

 

विभागले यस अघि नयाँबानेश्वरस्थित संगम मिठाई पसलमा पनि अखाद्य बस्तु मिसावट भएको पाइएपछि शिलबन्दी गरेको थियो । खाद्य अनुसन्धान अधिकृत सुवेदीले मानव स्वास्थ्यमा गम्भिर असर पार्ने खालका मिसावट गर्ने उत्पादन, विक्री वितरण केन्द्रमा शिलबन्दी गरी कडा कार्वाही गर्ने चेतावनी पनि दिए।

 

विभागले अनुगमनको क्रममा दुवै मिठाई पसलबाट साङला, झिंगा लगायतका बस्तु मिसिएको करिव १ सय २० केजी मिठाईलगायतका बस्तुहरुको नष्ट पनि गरेको छ । दुवै पसललाई खाद्य ऐन अन्तरगत कार्वाही हुने पनि विभागले स्पष्ट पारेको छ ।

 

 खाद्य ऐन अनुसार गुणस्तरहिन खाद्य बस्तु उत्पादन, विक्री वितरण गर्नेमाथि कम्तीमा ५० हजार जरिवाना र ५ वर्ष कैद सजाय दिने व्यवस्था गरिएको छ । सरकारले दसैं, तिहारको अवसर पारेर उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्न नदिन काठमाडौंलगायत देशभरका मुख्यमुख्य सहरमा अनुगमनको कामलाई तीव्रता दिएको हो ।

 

उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल हुने गरी अखाद्य बस्तु मिसाएको पाइएमा त्यस्ता बस्तु उत्पादन केन्द्रमाथि कडा कार्वाही हुने पनि विभागका अनुसन्धान अधिकृत सुवेदीले चेतावनी दिए । 

 

विभागले यस वर्ष अनुगमनको क्रममा उत्पादन केन्द्रको भौतिक अवस्था, कानुनी पक्ष र त्यसमा प्रयोग गर्ने प्रविधिमाथि पनि कडा निगरानी राखेको छ । सरकारले खाद्य स्वच्छता अभियान अन्तरगत बजार अनुगमनको कामलाई निरन्तरता दिएको हो । 

प्रतिक्रिया दिनुहोस्