काठमाडौंमा नक्कली सुन बेच्नेको बिगबिगी, ४० लाख ठग्ने युवतीसहित १० पक्राउ



काठमाडौं: काठमाडौंमा केही समययता तस्करीको सुन सस्तोमा दिने भनेर ठगी पनि बढ्न थालेको छ । सस्तोमा सुन बेच्ने भन्दै नक्कली सुन दिएर ठगी गर्ने धेरै गिरोह सक्रिय रहेको प्रहरीले जनाएको छ। त्यसमध्ये एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

 

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले समीर लामा नेतृत्वको गिरोहका १० जनालाई पक्राउ गरेको खबर  नयाँ पत्रिका दैनिकमा छ । उनीहरूले न्युरोडकी अञ्जु शर्मालाई ४० लाख रुपैयाँ ठगी गरेका हुन् । उनीहरूले केरुङबाट तस्करी भएको आएको सुन सस्तोमा बेच्ने भन्दै झुक्याएर नक्कली सुन बेचेका हुन् ।

 

सिआइबीले लामासहित रोहित मगर भनिने पूर्णबहादुर पुलामी, पवन विक, मनीष ढुंगाना, सन्तोषकुमार लामा, मनोज लामा, सरिता शेर्पा भन्ने संगीता राई, सुरेश राई र सागर राईलाई पक्राउ गरेको छ । गिरोहमा आबद्ध डिएसपी उपनाम भएका व्यक्ति फरार छन् ।

 

उनले आफू सिआइडीको डिएसपी भन्दै सो ठगीमा भूमिका खेलेको प्रहरीले जनाएको छ। समूहका सबैजसो आपराधिक पृष्ठभूमिका भएको र सबैले उपनाम राख्दै आएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्