लखेटिएपछि मन्त्रीको शरणमा राउटे



सुर्खेत: लेकबेंसी नगरपालिकाको पार्वती महिला सामुदायिक वनले काठ काटेको भन्दै लखेटेपछि जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदायले कर्णाली प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री नन्दसिंह बुढालाई गुहारेको छ । सामुदायिक वनमा रूख काट्दै गर्दा वन पदाधिकारी र स्थानीयले बुधबार राउटे समुदायलाई लखेटेका थिए ।

 

‘काठका भाँडाकुँडा बनाउन पाँचवटा सिमल ढालेका थियौं,’ मन्त्री बुढालाई भेटेर राउटे समुदायका अगुवा महिनबहादुर शाहीले भने, ‘गाउँमा मानिस आएर हामीलाई लखेटे।’ राउटे समुदायले रूख काटेको भन्दै सामुदायिक वनका पदाधिकारीले जरिवाना गर्न खोजेपछि उनीहरू बिहीबार मन्त्री र अन्य सरोकारवालाहरूलाई भेट्न वीरेन्द्रनगर आएका थिए ।

 

राउटे समुदाय लेकबेंसीको रतेखोलामा बस्दै आएको छ । रूख ढालेर त्यसैको काठबाट कोसी, मधुसलगायत भाँडाकुँडा बनाएर दैनिकी चलाउने राउटे समुदाय र सामुदायिक वनबीच विभिन्न ठाउँमा विवाद हुँदै आएको छ। राउटे समुदायको गुनासोपछि मन्त्री बुढाले डिभिजन वन कार्यालय सुर्खेतका निमित्त प्रमुख सूर्यप्रसाद शर्मालाई बोलाएर समस्या समाधान गरिदिन निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्