विद्यार्थी खोज्दै इतिहास विभाग



काठमाडौं : त्रिभुवन विश्वविद्यालयको इतिहास केन्द्रीय विभागमा गत वर्ष एक जना विद्यार्थी पनि भर्ना भएनन् । यस वर्ष पनि ४ जनाले मात्रै सम्पर्क गरेका छन् । इतिहास अध्ययनमा रुचि नदेखिएपछि विभागले विद्यार्थी बढाउने उपाय खोज्न थालेको छ ।

त्यसका लागि विभागले छात्रवृत्तिमा पढाउने र बिहानी कक्षा चलाउने भएको छ । त्रिविले २०१७ सालबाट इतिहास विषयको पढाइ सुरु गरेको थियो । अहिले यो विभाग खुम्चँदै गएको छ । कुनै बेला विभागमा ३६ जना प्राध्यापक थिए । अहिले ८ जना मात्रै छन् ।

नयाँ–नयाँ विषयमा विद्यार्थीको ध्यान गएकाले इतिहास अध्ययन गर्न चाहनेको संख्या न्यून भएको विभाग प्रमुख शंकर थापाले जनाए । २०७० सालबाट सेमेस्टर प्रणालीमा पठनपाठन सुरु गरेपछि विद्यार्थी संख्या झनै घटेको हो ।

‘इतिहास भनेको विगतको राजनीतिक विषय मात्र पढ्ने हो भन्ने भ्रम छ,’ उनले भने, ‘इतिहास पढदा हुने फाइदाको महत्त्व बुझाउन नसक्दा विभाग सुक्न लाग्यो ।’

पाठ्यक्रम र पठनशैली परिवर्तन गर्दासमेत विद्यार्थीले चासो नदिएको उनले गुनासो गरे । पेसा व्यवसायमा संलग्न व्यक्ति र न्यून आर्थिक अवस्था भएकाले पनि इतिहास पढ्न सकुन् भनेर बिहानी कक्षा र छात्रवृत्तिमा पढाउने व्यवस्था गरिएको विभागले जनाएको छ । 

इतिहासविद् तथा त्रिविका मानविकी संकायका पूर्वडिन त्रिरत्न मानन्धरले जथाभावी नयाँ विषय थप्दा पुराना विषय ओझेल पर्दै गएको बताए ।

‘कुनै अध्ययन छैन, हचुवाको भरमा नयाँ–नयाँ विषय सुरु गरिएको छ, त्यसको असर के पर्छ भनेर मूल्यांकन हुनै छाड्यो,’ उनले भने । इतिहास विषयलाई रोजगारीसँग जोड्न सके विद्यार्थी संख्या बढ्ने उनको बुझाइ छ । 

‘पढ्ने भनेको रोजगार हुनु हो भन्ने धारणा बढदै गएको छ,’ उनले भने, ‘इतिहासलाई पनि पेसा–व्यवसायसँग जोड्न सके विद्यार्थी बढ्छन् ।’

इतिहास विषयको पाठ्यक्रममा अन्तर्राष्ट्रिय क्षेत्र, नेपालको पर्यटन, प्रशासकीय क्षेत्र र लिच्छविकालदेखि गणतन्त्रसम्मको राजनीतिक इतिहास समेटिएको छ । 

विभागका पूर्वप्रमुख तीर्थप्रसाद मिश्रले यी कुरा बुझाउन नसक्दा विद्यार्थी संख्यामा कमी आएको दाबी गरे । उनले भने, ‘विभाग विद्यार्थी नभएर बन्द हुने अवस्थामा पुगिसक्यो, इतिहास पढ्न विदेश जानुपर्ने अवस्था आउन सक्छ ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्