‘अभियोग लाग्दैमा दोषी हुँदैन’



काठमाडौं: वाइडबडी विमान खरिद प्रकरणमा अभियोग लाग्दैमा दोषी नहुने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताएका छन् । सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले यस्तो बताएका हुन् ।

 

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक भएसँगै वाइडबडीसम्बन्धी प्रश्नको जवाफमा मन्त्री बाँस्कोटाले अभियोग पूरा गर्न विभिन्न अवस्था पार गर्नुपर्ने भएकाले दोषी भनी हाल्ने अवस्था नभएको बताएका हुन् ।

 

वाइडबडी छानबिन उपसमितिको प्रतिवेदनप्रति पनि मन्त्री बाँस्कोटाले आपत्ति जनाए । वाइडबडीबारे अध्ययन गर्न बनेको उपसमितिले मूल समितिलाई बुझाउनुपर्ने प्रतिवेदनलाई आफैंले सार्वजनिक गरेको भन्दै आपत्ति जनाएका हुन् । सरकारले आवश्यक ठानेमा अर्को छानबिन समिति गठन गर्न सक्नेमन्त्री बाँस्कोटाको भनाइ थियो ।

 

वाइडबडी विमान खरिद प्रक्रियामा अनियमितता भएको भन्दै संसद्को सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले बहालवाला पर्यटनमन्त्री रवीन्द्र अधिकारी तथा तीन पूर्वमन्त्रीलाई कारबाही गर्न बुधबार सिफारिस गरेको थियो । छानबिन उपसमितिले वाइडबडी खरिद प्रक्रियामा ४ अर्ब ३५ करोड रुपैयाँ घोटाला भएको प्रतिवेदनमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्