भीभीआईपी बोक्नमात्रै ४ हेलिकप्टर स्ट्याण्डबाइ



काठमाडौं : नेपाली सेनाले ४ वटा हेलिकप्टर विशिष्ट तथा अतिविशिष्ट व्यक्तिका लागि मात्रै तयारी हालतमा (स्ट्याण्डबाइ) रहने गरी दीर्घकालिन हवाई योजना तयार पारेको छ । 

राष्ट्रपतिका लागि मात्रै प्रयोग हुने गरी छुट्टै हेलिकप्टर खरिद गरिसकेको सरकारले विशिष्ट व्यक्तिका लागि भन्दै थप हेलिकप्टर किन्न लागेको हो । सोही योजनाअनुसार सेनाले यसको खाका तयार पारेको हो । 

सैनिक हवाईसाधनलाई भीभीआईपी–मध्य एयरबेस (त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल), पूर्वी एयरबेस (विराटनगर) र पश्चिम एयरबेस (सुर्खेत) अन्तर्गत विकेन्द्रीकरण गर्दै सेनाले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत अति विशिष्ट तथा विशिष्ट व्यक्तिका लागि मात्रै उडान भर्न ४ वटा हेलिकप्टर सहितको कार्ययोजना बनाएको हो । 

सेनाको उक्त कार्ययोजना रक्षा मन्त्रालयमा पेश भइसकेको छ । यसका खरिद प्रक्रियामा रहेका बाहेक प्रतिगोटा डेढ अर्ब भन्दा बढी मूल्यका थप ३ वटा हेलिकप्टर किन्नुपर्ने छ । 

सेनाको योजनाअनुसार यसबाहेक पनि कार्ययोजना अनुसार समेट्न २ वटा फिक्स विङ हेलिकप्टर पनि खरिद गर्नुपर्ने छ ।अहिले बेल (अमेरिका) १, अगुष्टा (इटाली) २, एमआई–१७ (रसिया) २, फिक्स विङ कार्गो (इन्डोनेसिया) र ट्रेनर (अमेरिका) १–१ गरी ८ वटा खरिद प्रक्रियामा छन् । 

१ महिनाअघि मात्रै राष्ट्रपतिका लागि प्रयोग गर्न डेढ अर्ब रुपैयाँ खर्चेर सरकारले सेना मार्फत १४ सीट क्षमताको अगुष्टा (इटालियन) हेलिकप्टर ल्याइसकेको छ । 

अहिले भएका १४, खरिद प्रक्रियामा रहेका ८ तथा थप ५ वटा खरिद गरेर कार्ययोजना अनुसार हेलिकप्टर सम्बन्धित एयरबेसमा स्ट्याण्डवाइ राखिने छ । 

जसअन्तर्गत भीभीआइपीबाहेक मध्य एयरबेस १३, पश्चिम एयरबेस अन्तर्गत ८, पूर्वी एयरबेस अन्तर्गत ४ र एभिएसन तालिम केन्द्रमा २ वटा रहने गरी हवाई साधन बाँडफाँट गरिने सेनाले जनाएको छ । आजको काराेबार दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्