एप्पल: कसरी एकै दिनमा ७५ अर्ब डलरको नोक्सानी ?



काठमाडौं: प्रविधिसम्बन्धी विशाल कम्पनी एप्पलले आफ्नो आम्दानी अपेक्षा गरेभन्दा कम हुने चेतावनी दिएलगत्तै उसको शेयरको कुल मूल्यमा ७५ अर्ब डलरको नोक्सानी भएको छ । वाल स्ट्रिटमा बिहीवार एप्पलको शेयर मूल्य १० प्रतिशतले खस्कियो ।

 

एप्पलका प्रमुख कार्यकारी टिम कुकले कम्पनीको आम्दानी घट्नुका पछाडि चीनमा उसको बिक्रीमा आएको मन्दीलाई दोष लगाएका छन् । सन् २०१८ का अन्तिम तीन महिनामा एप्पलको आम्दानी ८४ अर्ब डलर मात्र हुने उनले बताए जबकि यसअघि सो आम्दानी ८९ अर्ब डलर हुने ठानिएको थियो ।

 

अन्य उपभोग्य सामग्रीका कम्पनीहरू जस्तै मोबाइल कम्पनी एप्पलका निम्ति पनि क्रिसमस जस्तो चाडबाडको मौसम फलदायी मानिन्छ । वर्षभर मध्ये सबभन्दा धेरै आम्दानी यही मौसममा हुने ठानिन्छ । तर यसपालि त्यस्तो हुन सकेन ।

 

एप्पलको आइफोन मोबाइलको बिक्रीमा गिरावट आउनुलाई कम्पनीको आम्दानी घट्नुको प्रमुख कारण ठानिएको छ । पहिले पहिले आइफोनको नयाँ संस्करण बजारमा आउने वितिक्कै मानिसहरू त्यसलाई किन्न निकै उत्सुक हुन्थे । कम्पनीको शोरुम बाहिर लामो लाइन लाग्ने गर्थ्यो ।

 

एप्पल अब चौथो ठूलो कम्पनी

चीनमा एप्पलका सामग्री बिक्रीमा गिरावट आएको चेतावनी लगत्तै त्यसको असर अमेरिकी शेयर बजारमा परेको हो । प्रविधि कम्पनीहरूको शेयर सूचकाङ्क नाज्डाक ३ दशमलव १ प्रतिशतले गिर्‍यो । केही समय अगाडिसम्म एप्पल अमेरिकामा सार्वजनिक शेयर खरिदबिक्री हुनेमध्ये सबभन्दा ठूलो कम्पनी थियो । तर अब उसलाई अन्य तीन कम्पनीले उछिनिसके ।

 

अब एप्पल भन्दा अगाडि माइक्रोसफ्ट, एमेजन र गुगलको स्वामित्व भएको अल्फाबेट कम्पनी रहेका छन् । तर पछिल्लो समय एप्पललाई आफ्ना सामग्रीको बिक्रीमा कमी आउने अनुमान पहिलै थियो । त्यसैले उसले अन्य क्षेत्रमा पनि अगाडि बढ्ने प्रयास गरिरहेको छ ।

 

अचेल एप्पलले सेवा, स्वास्थ्य तथा फिटनेस क्षेत्रमा निकै प्रगति गरेको छ। एप्पलले सेवा क्षेत्रबाट उति नै कमाउँछ जति फेसबुकको कुल आम्दानी छ । त्यसैले डेव ली भन्छन्, "यसो भन्नु गलत हुनेछ कि एप्पल मुस्किलमा परेको छ।" बिबिसीबाट

प्रतिक्रिया दिनुहोस्