विशिष्ट व्यक्तिका लागि भन्दै फेरि चार हेलिकप्टर किन्दै सरकार



काठमाडौं: नेपाली सेनाले ४ वटा हेलिकप्टर विशिष्ट तथा अतिविशिष्ट व्यक्तिका लागि मात्रै तयारी हालतमा (स्ट्याण्डबाइ) रहने गरी दीर्घकालिन हवाई योजना तयार पारेको छ। राष्ट्रपतिका लागि मात्रै प्रयोग हुने गरी छुट्टै हेलिकप्टर खरिद गरिसकेको सरकारले विशिष्ट व्यक्तिका लागि भन्दै थप हेलिकप्टर किन्न लागेको हो ।

 

सोही योजनाअनुसार सेनाले यसको खाका तयार पारेको हो। सैनिक हवाईसाधनलाई भीभीआईपी(मध्य एयरबेस (त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल), पूर्वी एयरबेस (विराटनगर) र पश्चिम एयरबेस (सुर्खेत) अन्तर्गत विकेन्द्रीकरण गर्दै सेनाले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत अति विशिष्ट तथा विशिष्ट व्यक्तिका लागि मात्रै उडान भर्न ४ वटा हेलिकप्टर सहितको कार्ययोजना बनाएको हो ।

 

सेनाको उक्त कार्ययोजना रक्षा मन्त्रालयमा पेश भइसकेको खबर कारोबारमा छ। यसका खरिद प्रक्रियामा रहेका बाहेक प्रतिगोटा डेढ अर्ब भन्दा बढी मूल्यका थप ३ वटा हेलिकप्टर किन्नुपर्ने छ। सेनाको योजनाअनुसार यसबाहेक पनि कार्ययोजना अनुसार समेट्न २ वटा फिक्स विङ हेलिकप्टर पनि खरिद गर्नुपर्ने छ ।

 

अहिले बेल (अमेरिका) १, अगुष्टा (इटाली) २, एमआई–१७ (रसिया) २, फिक्स विङ कार्गो (इन्डोनेसिया) र ट्रेनर (अमेरिका) १/१ गरी ८ वटा खरिद प्रक्रियामा छन् । एक महिनाअघि मात्रै राष्ट्रपतिका लागि प्रयोग गर्न डेढ अर्ब रुपैयाँ खर्चेर सरकारले सेना मार्फत १४ सीट क्षमताको अगुष्टा (इटालियन) हेलिकप्टर ल्याइसकेको छ।

 

अहिले भएका १४, खरिद प्रक्रियामा रहेका ८ तथा थप ५ वटा खरिद गरेर कार्ययोजना अनुसार हेलिकप्टर सम्बन्धित एयरबेसमा स्ट्याण्डवाइ राखिने छ। जसअन्तर्गत भीभीआइपीबाहेक मध्य एयरबेस १३, पश्चिम एयरबेस अन्तर्गत ८, पूर्वी एयरबेस अन्तर्गत ४ र एभिएसन तालिम केन्द्रमा २ वटा रहने गरी हवाई साधन बाँडफाँट गरिने सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्