भारतीय ‘अण्डा’मा निगरानी



चितवन: भारतीय सीमा क्षेत्रका नेपाली बजार हुँदै कुखुराको अण्डा भित्रन थालेकाले नेपाल अण्डा उत्पादक सङ्घले रोक्नका लागि निगरानी बढाएको छ । सङ्घको केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरुले नियमित रुपमा त्यस्ता बजारको अनुगमन गरी अवैध रुपमा अण्डा भित्रन नदिन सचेत गराएका छन् ।

 

सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार सीमा क्षेत्रका बजारमा भारतीय सेतो अण्डा भित्रिएपछि नेपाली उत्पादन प्रभावित बनेको छ । कानूनी रुपमा हवाईमार्गबाहेक अन्यत्रबाट कुखुराजन्य पदार्थ आयात गर्न निषेध गरिएको कँडेलले बताए । यद्यपि लुकीछिपी सीमाका बजारमा अण्डा आउन थालेपछि केन्द्रीय समितिले नियमित अनुगमन गरिरहेको कँडेलले बताए ।

 

केन्द्रीय समितिले सशस्त्र प्रहरीको सीमा सुरक्षा बलका अधिकारीलाई भेट गरी अण्डा भित्रन नदिन आग्रह गरेको उनले बताए । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय सचिव मदन पोखरेलका अनुसार बर्दघाट, भैरहवा, परासी, महेशपुर, वीरगञ्ज, जनकपुर, सिराहालगायत क्षेत्रमा नियमित अनुगमन भइरहेको छ । देशका अन्य सीमा क्षेत्रका बजारमा पनि भारतीय अण्डा भित्रन नदिन सम्बन्धित क्षेत्रका सशस्त्र प्रहरी, व्यवसायी र कृषकलाई आग्रह गरिएको उनले बताए ।

 

प्रतिक्रेट रु ३६५ सम्म पुगेको अण्डाको फार्म मूल्य घटेर हाल रु २७० मा कारोवार भइरहेको पोखरेलले बताए । दुई वर्षअघि अण्डाको प्रतिक्रेट मूल्य रु ३६५ रहेको थियो । उनका अनुसार देशभरमा दैनिक ३५ लाख अण्डा उत्पादन हुन्छ । जसमध्ये आधा चितवनमा उत्पादन हुँदै आएको छ ।  

प्रतिक्रिया दिनुहोस्