‘कांग्रेस–कम्युनिस्टका विद्रोह क्रान्ति हुने, थारूका चाहिँ अपराध ?’



काठमाडौं : नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले रेशम चौधरीको शपथमाथि विवाद गर्नु विडम्बनापूर्ण भएको प्रतिक्रिया दिएका छन् ।

भट्टराईले ट्वीट गर्दै सांसद चौधरीको पक्षमा आफ्नो प्रतिक्रिया दिएका हुन् ।

उनले चौधरी निर्वाचित सांसद भएकाले र उनीमाथिका अभियोग प्रमाणित नभएकोले उनलाई सांसदको शपथ गराउनु उचित भएको आशयसहितको ट्वीट गरे ।

भट्टराईले ट्वीटमा लेखेका छन्, ‘टीकापुरमा मान्छे मर्नु दुःखद् छ । तर, त्यसमा रेशम र अरू २६ जनाको संलग्नता पुष्टि भएको छैन ! शंकाकै भरमा निर्वाचित सांसदलाई शपथ नै नगराउनु पञ्चायतकालमा रामराजालाई नगराए जस्तै हैन र ? कांग्रेस–कम्युनिस्टका त्यस्तै विद्रोह क्रान्ति हुने, थारूका चाहिं अपराध ?’

बिहीबार चौधरीलाई सभामुख कृष्णबहादुर महराले सांसदको शपथ गराएका थिए । चौधरीको शपथको विरोध गर्दै तरुण दलले विज्ञप्ति निकालेको थियो भने चौधरी अपराधीभएको भन्दै उनलाई शपथ गराउन नहुने विचार चर्को रुपमा प्रस्तुत भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्