धनगढीमा आन्दोलन–‘जबरजस्ती गर्न पाइँदैन, डम्पिङ्ग साइट चाहिँदैन’



कैलाली : धनगढी उपमहानगरपालिकाले एकीकृत फोहोरमैला केन्द्र (ल्यान्डफिल्ड साइट) स्थापना गर्ने विषयलाई लिएर स्थानीय आन्दोलित भएका छन् । 

एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा  उपमहानगरपालिकाले ल्यान्डफिल्ड साइटसम्बन्धी आयोजना कार्यान्वयन गर्न खोजेपछि वडा नम्बर १ का स्थानीयले शुक्रबार विरोध प्रदर्शन गरेका छन् ।  

प्रदर्शनकारीले नगरका विभिन्न ठाउँ परिक्रमा गर्दै ‘घरबस्ती नजिक फोहरमैला चाहिँदैन डम्पिङ्ग साइट पनि हामीलाई चाहिँदैन’, भन्दै विरोध जनाएका हुन् । ‘जबरजस्ती गर्न पाइँदैन, डम्पिङ्ग साइट चाहिँदैन’ जस्ता नारा लगाउँदै उनीहरूले धनगढी उपमहानगरपालिका अगाडि पुगेर पनि विरोध प्रदर्शन गरेका छन् ।  

घरआँगन अगाडि बनाइन लागेको ल्यान्डफिल साइटले गाउँ नै दुर्गन्धित हुने भन्दै बनाउन नदिने स्थानीय शान्ति थापाले बताइन् । तोकिएको स्थानमा ल्यान्डफिल्ड साइट बनाउँदा आफूहरू प्रभावित हुने भन्दै स्थानीयले लगातार विरोध जनाइरहेका छन् । 

उपमहानगर क्षेत्रको फोहरमैला व्यवस्थापन केन्द्र स्थापनाका लागि धनगढी उपमहानगरपालिकाको मोहना नदी किनारको शान्ति कटानमा जग्गा खोजिएको उपमेयर सुशीला मिश्र भट्टले बताइन् । 

वातावरणीय प्रभाव मूल्यांकन अध्ययनले उचित स्थान भएको भन्दै सोही क्षेत्रलाई तोकिएको उपमेयर भट्टको भनाइ छ । नगरपालिकाले सोही क्षेत्रका बासिन्दामध्ये ४४ जनाको टोलीलाई देशका विभिन्न भागमा अध्ययनभ्रमणका लागि लगेको जानकारी दिइन् । 

एसियाली विकास बैंक (एडिबी) ले एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र स्थापनाका लागि करिब रु ६० करोड ऋण सहयोग गरेको छ । आयोजना कार्यान्वयनका लागि आवश्यक डिजाइन र लागत इस्टिमेटलगायतका काम अन्तिम चरणमा पुगेको भए पनि एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गर्नका लागि जग्गाको टुंगो नलाग्दा अन्योल देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्