कांग्रेस सभापति देउवा भन्छन्– सरकार ‘सुपर फ्लप’



विराटनगर : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार ‘फ्लप’ मात्रै नभएर ‘सुपर फ्लप’ भएको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै सभापति देउवाले जनताको इच्छा र चाहना अनुसार काम गर्न नसकेका कारण सरकार विभिन्न विवादमा फस्दै गएको बताए । 

सरकारले कैलालीको टिकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीलाई सांसदको शपथ गराएकामा उनले असन्तुष्टि जनाए । ‘रेशमलाई शपथ गराउने विषय हामीलाई जानकारी नै थिएन,’ देउवाले भने, ‘बिना हतियार गएका प्रहरीलाई निर्मम तरिकाले हत्या गर्नेलाई कसरी शपथ गराइयो ?’ 

उनले निर्मला हत्या काण्डलाई सरकारले सानो घटनाका रूपमा लिएको बताए । ‘सुपर फ्लप भइसकेको सरकार यहाँ भन्दा फ्लप हुने ठाउँ नै छैन,’ उनले भने, ‘वाइड बडी प्रकरण र निर्मला हत्याकाण्ड जस्ता विषयले नै सरकार सकिदियो ।’ 

प्रदेशमा जान नमान्ने कर्मचारीलाई प्रोत्साहित गर्नु पर्ने ठाउँमा सरकारले जबरजस्ती गरेको उनको आरोप थियो । ‘कर्मचारीलाई थर्काएर र धम्क्याएर हैन फकाएर काममा लगाउन सक्नु पर्छ,’ उनले भने, ‘जागिरबाट निकाल्छौँ भनेर जबरजस्ती गर्नु सरकारको लाचारीपन हो ।’ 

सरकारले कर्मचारी काममा नजाँदा समस्या हुन्छ भन्ने कुरालाई बुझेर त्यही हिसाबले प्रस्तुत हुनु पर्ने र कर्मचारीलाई प्रोत्साहित गर्ने खालका कार्यक्रम ल्याउनु पर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्