प्रदेशका पनि के कम : सांसद श्रीमती, स्वकीय सचिव श्रीमान



कैलाली : सुदूर पश्चिम प्रदेश सभा सांसदले आफ्ना स्वकीय सचिव तथा सचिवालयका कर्मचारीको तलब भत्ता आफैँले बुझ्ने गरेको पाइएको छ । प्रदेश सरकारका मन्त्री र सभामुखले तीन–तीन जना, उप सभामुख र विपक्ष दलको नेताले दुई–दुर्ई जना, अन्य सांसदले एक–एक जना स्वकीय सचिव राख्न पाउने प्रावधान छ । 

सुदूर पश्चिम प्रदेशमा तत्कालीन एमालेबाट २५, माओवादी केन्द्र १४, नेपाली कांग्रेसबाट १२ र राजपाबाट २ गरी ५३ सांसद छन् । 

केही सांसदले श्रीमान श्रीमती नै स्वकीय सचिवमा राखेका छन् । कतिपयलाई आफू सांसदको स्वकीय सचिव भएको जानकारी नै छैन । नाम राखेको बारे आफन्तलाई जानकारी नै नदिई सांसदले स्वकीय सचिवको तलब बुझ्ने गरेका छन् । 

२०७५ श्रावणदेखि लागु हुने गरी सुदूरपश्चिम प्रदेश सभा सचिवालयबाट ४९ स्वकीय सचिवको ५ महिनाको तलब सम्बन्धित सांसदहरूको खातामा पठाइएको प्रदेश सभाका लेखा अधिकृत शिवराज ढुगानाले जानकारी दिए । जसअनुसार ५७ लाख ५७ हजार पाँच सय रुपैयाँ सांसदको खातामा गएको छ । 

त्यस्तै ७ जना मन्त्रीका २१ स्वकीय सचिवको तलब मुख्यमन्त्री कार्यालयले उपलब्ध गराएको छ । 

नियम अनुसार स्वकीय सचिवको तलब सम्बन्धित सांसदको खातामा जम्मा हुने भएकोले यस विषयमा केही गर्न नसकिने प्रदेश सभा सचिवालयको भनाइ छ ।

सांसदका स्वकीय सचिवले नायव सुब्बासरहको तबल २३ हजार पाँच सय पाउने व्यवस्था छ । मन्त्री, सभामुख, उप सभामुख र विपक्ष दलका नेताका स्वकीय सचिवको भने स्तरका आधारमा फरक–फरक तलब तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्