नारायणी उपक्षेत्रीय अस्पताललाई मेडिकल कलेज बनाइने



विरगंज : प्रदेश नम्बर २ का मुख्य मन्त्री लालबाबु राउतले वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताललाई मेडिकल कलेज बनाउने बताएका छन् । संघीय सरकारले नारायणी उपक्षेत्रीय अस्पताललाई स्तरोन्ती गरी केन्द्रीय अस्पताल घोषणा गरेपछि मुख्यमन्त्री राउतले यसलाई कलेजकै रूपमा विकास गरिने बताएका हुन् । 

अस्पतालको निरीक्षण गर्दै मन्त्री राउतले अस्पताललाई मेडिकल कलेज कसरी बनाउन सकिन्छ बारे छलफल गरिने र यसबारे आगामी वर्षको नीति तथा कार्यक्रममा समेटिने प्रतिबद्धता जनाए । अस्पतालको विकासका लागि आवश्यक बजेट निकासा गर्ने पनि उनले बताए । 

उनले संघीय सरकारको उपेक्षाका कारण अहिलेसम्म प्रदेश २ को विकास हुन नसकेको जिकिर गरे । 

मुख्य मन्त्री राउतले अस्पताल विकासको लागि छुट्ट्याएको रकम व्यवस्थित र ईमान्दारीपूर्वक खर्च गर्न अस्पतालका मेसुलाई निर्देशन समेत दिए । उनले अस्पतालका मेसु डा. एनामुल हकलाई निर्देशन दिँदै भने, ‘अस्पतालको विकास गर्ने सवालमा कसैको दबाब र प्रभावमा नपर्नुस् ।

कार्यक्रममा सामाजिक विकास मन्त्री नवल किशोर साह, स्वास्थ्य निर्देशनायका निर्देशक डा प्रमोद यादवलगायतले अस्पतालको विकासमा ध्यान दिन आग्रह गरे ।

अस्पतालका मेसु हकले अस्पतालमार्फत केन्द्रीय स्तरको सेवा दिनका लागि तत्काल आवश्यक बजेटको व्यवस्था मिलाउन प्रदेश सरकारलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्