सम्बन्धित स्थानीय तहमै समायोजन माग गर्दै ज्ञापन



कैलाली : सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेशले कृषि तथा पशु प्राविधिकहरूलाई सहज ढङ्गले सम्बोधन नगरेकाले सच्याउन माग गर्दै सुदूर पश्चिम प्रदेशका ९ ओटै जिल्ला प्रशासन कार्यालयमा शुक्रबार ज्ञापन पत्र बुझाइएको छ ।

नेपाल कृषि तथा भेटेरीनरी प्राविधिक हकहित संरक्षण समाज जिल्ला समितिले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । 

तीन हजार भन्दा बढी प्राविधिकलाई हाल कार्यरत स्थानीय तहमै समायोजन गर्नुपर्ने माग उनीहरूको छ । समाजका बझाङ जिल्ला अध्यक्ष लोकेन्द्र विष्टले भने, ‘अध्यादेशमा आएको कुरा सच्याएर स्थानीय तहका कार्यरत प्राविधिकहरूलाई स्थानीय तह मै समायोजन गरी त्यहीँबाट नै स्थायी गर्नु पर्दछ भन्ने हाम्रो माग हो ।’ 

पहिलो चरणमा जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई यस विषयमा ज्ञापन पत्र बुझाएको समाजले जनाएको छ । 

लोकसेवाको मापदण्ड बमोजिम नै लिखित र अन्तर्वार्ता पास गरेर नियुक्ति लिएका एक गाउँ एक प्राविधिकलाई सरकारले बेवास्ता गर्ने र हटाउने षडयन्त्र गरे समाजले चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्