नेकपाको संगठन अझै अन्योल



काठमाडौं: पार्टी एकता भएको झन्डै आठ महिना बितिसक्दा पनि नेकपाको पूर्ण सांगठनिक आकार तयार भएको छैन । झन्डै १५ दिन लामो स्थायी समिति बैठक भर्खरै सकियो । त्यसमा पार्टीको संगठन आकार तयार गर्नेभन्दा नेताका कार्यशैली र सरकारको कामकारबाहीबारे बढी बहस र विवाद भयो ।

 

अहिले नेकपाले केन्द्रदेखि प्रदेश र अधिकांश स्थानीय तहको नेतृत्व गरिरहेको छ । पार्टीको संगठन भने तदर्थ शैलीमा चलिरहेको छ । तत्कालीन एमाले र माओवादी केन्द्रकै संगठनहरूले नै काम गरिरहेका छन् ।

 

स्थायी समितिमा अध्यक्षद्वयले पेस गरेको प्रतिवेदनमा पनि तल्लो तहसम्म एकताको ठोस प्रस्ताव आएन । बैठकबाट एउटा कार्यदल बनाइएको छ । उक्त कार्यदलले रिपोर्ट दिएपछि मात्र बल्ल तल्लो तहसम्मको एकीकरणको काम अघि बढ्ने छ ।

 

‘तल्लो तहको एकतासम्बन्धी मापदण्ड, विधानमा नमिलेका विषयबारे अध्ययन भइरहेको छ,’ कार्यदल सदस्य वेदुराम भुसालले भने, ‘चाँडै हामी प्रतिवेदन दिन्छौं । त्यस आधारमा पार्टीमा छलफलपछि निर्णय हुनेछ ।’

 

जेठमा एकीकरण भए पनि नेकपामा हालसम्म केन्द्रीय सचिवालय, केन्द्रीय समिति, स्थायी समिति र प्रदेश समिति मात्र बनेका छन् । पोलिटब्युरोसमेत बन्न सकेको छैन । केन्द्रीय विभागहरू बनेका छैनन् ।

 

नेताहरूको काम र जिम्मेवारी बाँडफाँट पनि भएको छैन । जिल्ला र त्योभन्दा तल्लोस्तरका कमिटी बनेका छैनन् । दुवै पार्टीका झन्डै दुई दर्जन भ्रातृ संगठन छन् । ती संगठन पनि तदर्थ शैलीमा चलेका छन् । दुवै पार्टी कमिटीहरू मिलेर काम गर्छन् । एकीकृत संगठन बनेको छैन ।

 

पुस र माघभित्र सबै काम सकेर फागुन र चैतमा देशव्यापी अभियान सञ्चालन गर्ने नेकपाको तयारी छ । अहिलेसम्म प्यारालाइज जस्तो बनेको संगठनलाई चलायमान गराउन मुलुकभर एकता सन्देश दिने खालको अभियान चलाउन लागेको कान्तिपुरमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्