रेलको इन्जिन कुर्दै महोत्तरीवासी



महोत्तरी: जयनगरदेखि कुर्थासम्मको रेलमार्ग निर्माण लगभग सम्पन्न भएको छ । रेल विभागले जयनगर–बर्दिवाससम्मको रेलमार्गअन्तर्गत पहिलो चरणको काम सम्पन्न भइसकेकाले रेलसेवा सञ्चालन हुने गरी तयारी अवस्थामा रहेको जनाएको छ ।

 

नेपाल सरकारले आफैँले रेल किन्ने घोषणा गरेकाले इन्जिन आउनेबित्तिकै नेपालीको रेल चढ्ने धोको पूरा हुने रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । उनले निर्माणका सबै काम पूर्ण भइसकेकाले उद्घाटनका लागि जनकपुर रेल्वे स्टेसनलाई मिथिला चित्रकलाले दुलहीझैँ सिँगारिएको जानकारी दिए ।

 

तर, जयनगरदेखि कुर्थासम्मको रेलमार्ग उद्घाटन कसले गर्ने भन्ने निर्णय भने अझै भइसकेको छैन । नेपाल र भारतको केन्द्र सरकारकै उपस्थितिमा रेलमार्ग उद्घाटन गर्ने तयारी छ । नेपालमा ब्रोडगेज रेलसेवा सञ्चालन गर्न लागिएको हो ।

 

साबिकमा भारतको जयनगरदेखि महोत्तरीको विजलपुरासम्म सञ्चालनमा रहेको जनकपुर रेल्वेलाई विस्तारित गर्दै नेपाल रेल्वेले जयनगरदेखि महोत्तरीको बर्दिवाससम्म सञ्जाल बढाएको छ । भारत सरकारको सहयोगमा निर्माण भइरहेको रेल्वे सेवा तीन चरणमा पूरा हुँदै छ, जसको पहिलो चरणको काम अन्तिममा पुगेको छ ।

 

पहिलो चरणअन्तर्गत जयनगरदेखि धनुषाको कुर्थासम्म रेल सञ्चालन गर्ने योजना छ । जयनगरदेखि कुर्थासम्मको तीन हल्ट, पाँच स्टेसन र प्लेट फर्म तयार भइसकेको रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालयका प्रमुख इन्जिनियर विनोद ओझाले बताए । जयनगरदेखि कुर्थासम्मको ३५ किलोमिटरसम्मको रेलसेवा गत डिसेम्बरभित्र सञ्चालन गरिसक्ने लक्ष्य भए पनि हाल रोकिएको उनको भनाइ छ ।

 

त्यस्तै, दोस्रो चरणको कुर्थादेखिको भंगहासम्मको रेलसेवा आगामी मार्च या अप्रिलभित्र सञ्चालन गरिसक्ने इन्जिनियर ओझाले जानकारी दिए । दोस्रो चरणमा थप १७ किलोमिटर रेलसेवा सञ्चालन हुनेछ । दोस्रो चरणअन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको खुट्टा हुँदै भंगहासम्म दुई स्टेसन र दुईवटा हल्ट निर्माण सम्पन्न भइसक्ने उनको भनाइ छ । दोस्रो चरणमा सञ्चालन हुने रेलसेवाको कार्यसमेत द्रुत गतिमा भइरहेको नयाँपत्रिकामा खवर छ ।  

प्रतिक्रिया दिनुहोस्